
हरिबोल गजुरेल, सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हुन् । प्रचण्डका सबैभन्दा निकटमध्येका उनी यसपटक वामदेव गौतमविरुद्ध कडा रुपमा प्रस्तुत भए । अनुशासन तोडेको देखि नेताले गर्न नसुहाउने गरेको भन्दै आलोचना गरे । नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग उनले गरेको कुराकानीको सानो अंश :
पार्टीभित्र वामदेव गौतमलाई शक्तिशाली बनाइयो नि ?
हो
वामदेव गौतमलाई किन शक्तिशाली बनाउनु भयो ?
अब वामदेव गौतम कमरेडले एउटा राजनीतिक प्रतिवेदन बाहिर आइसकेपछि, फेरि त्यही विषयमा नयाँपत्रिकामा लेख्नु भयो । त्यो चाहि एउटा नेताले गर्न नसुहाउने कुरो हो । राजनीतिक प्रतिवेदन प्रकाशित नगरी अरु कमरेडहरुले पनि त्यो विषयमा त छलफलमा त त्यो विषयवस्तु राख्नुभएको थियो, मिडियामा । त्यो सन्दर्भ अलि फरक थियो । राजनीतिक प्रतिवेदन पारित गरेर आइसकेपछि, जसरी उहाँले सार्वजनिक गर्नु भयो, त्यो आधिकारिक लाइनभन्दा बाहिर गएपछि उहाँलाई पुरस्कृत गरियो । यो बहसकै विषय छ । कम्युनिष्ट पार्टीमा यस्तै चल्ने हो कि ? हुने हो कि ? ज–जस्ले गल्ती गर्छन्, कमजोरी गर्छन्, तिनीहरुलाई चाहिं पुरस्कृत हुँदै जाने, राम्रो काम गर्नेलाई दण्ड गर्दै जाने, परिपाठीको विकास भयो भने कम्युनिष्ट पार्टीको औचित्य कति रहन्छ ?
तर तपाईलाई थाहा छ, राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिष्ट पार्टीमा फेरी सक्रिय हुनुभएको चर्चा सुरु भयो नि ?
त्यो त अलग कुरो । मान्छे चर्चा त जे पनि गरिरहन्छन् । त्यो कुन सन्दर्भमा कसरी गरे, त्यो कुरो । उहाँ राष्ट्रपति हुनुहुन्छ । राष्ट्रपति भइसकेपछि अहिले उहाँले पार्टीमा भुमिका खोज्नु भएको छैन । मान्छेहरुले अनुमान गर्ने कुराहरु त धेरै हुनसक्छ ।
बहुदलिय जनवाद जोगाउनको लागि वामदेव गौतमलाई उपाध्यक्ष बनाइयो रे ?
हैन, जोगाउनको लागि हैन । मैंले भने पनि यो समिकरणहरु बनाउने पार्टीमा समिकरणहरु बन्ने कुराले यस्तै चीजहरु हुन्छ यो । जब हामी समिकरणहरु बनाउँछौं, गुटहरु हुन्छन्, समिकरण हुन्छन्, गुटहरुकोे बीचमा, अनि त्यो समिकरणहरु बन्ने भत्किने भइरहन्छ । र कम्युनिष्ट पार्टीको विनाश भएकै यस्तै गुट बन्दी समिकरणले हो । त्यो त हाम्रो या पनि राम्रो संकत गरिराखेको छैन ।समिकरणहरु बनाउनु हुन्न भन्ने बारम्बार उठाईराखेको छु ।
त्यसोभए तपाईहरु पार्टीमा बहुदलीय जनवादको पक्षमा हुनुहुन्न अहिले ?
हामी बहुदलीय जनवादको पक्षमा होइन नि । हामी त जनताको जनवादमा विषयवस्तु सहितको समाजवाद हामीले राखिसकेका छौ । त्यसमा सहमति भइसकेको छ । त्यो कति ठिक छ छैन, कति अब अर्काे सन्दर्भमा त्यसलाई कसरी विकसित गर्ने, के गर्ने भन्ने त महाधिवेशनको दौरान छलफल गरेर हुने कुरा हो ।
तरपनि अबको यात्रा भनेको वामदेव गौतमको बहुदलीय जनवाद नै हो नि?
हैन, बामदेव गौतमजीको कुरो हो त्यो । वामदेव गौतमजीले राजनीतिक प्रतिवेदन उठाइसकेपछि जे कुरा उठाउनु भो त्यो एउटा नेताले गर्न सुहाउने कुरै होइन । त्यस्ले जनतामा ठूलै आशंका पैदा गरेको छ । वामदेव कमरेडले चुनावको तयारीको लागि पोखरामा चुनावको तयारीको लागि यसो गरेको हो भन्ने कुराहरु गम्भीर ढङ्गले उठिराखेको छ । यसले उहाँको छविलाई राम्रो गरीराखेको छैन । पहिलापनि काठमाण्डौंबाट उठ्ने भनेर एक जना कमरेडलाई उहाँले राजीनामा दिएर उठ्नतिर लाग्नु भयो । त्यल्ले पनि राम्रो गरिराखेको छैन । पद प्रतिष्ठाको लागि जे पनि गर्ने जुन तौर तरिका छ कम्युनिष्ट आन्दोलनमा, यो कम्युनिष्ट आन्दोलनमा सबैभन्दा घातक हो । पद प्रतिष्ठाको लागि जे पनि गर्ने, जे गर्न पनि तयार हुने, विचार, राजनीति, मूल्य, मान्यताको केहि मतलब नराख्ने त्यो चाहिं गम्भीर समस्या छ । त्यो एक जना दुई जनामा देखिएको होइन समग्र पार्टी मै समस्या छ । त्यसको विषयमा हामी चाहि विषय उठाइराखेका छौ । मलाई लाग्छ अब केन्द्रिय समितिको बैठक, स्थायी समितिको बैठक बस्दा यी विषयमा छलफल हुन्छ ।
वामदेव गौतम कास्कीबाट उम्मेदवार बन्न तयार हुुनु भएको छ ?
त्यस्तै अएको छ नि त । चितुवा कराउने र बाख्रा हराउने एकै चोटि भएपछि त मान्छेले अनुमान गरिहाल्छन् नि ।
त्यसो भए पार्टीले निर्णय गरिसकेको छैन, बामदेवलाई कास्कीबाट चुनावमा उम्मेदवार बनाउने भनेर ?
छैन । निर्णय ग¥या छैन ।
अब पार्टीले के गर्छ ?
के गर्छ भन्ने कुरो त त्यो बेलाको स्थिति अवस्थामा, त्यति सजिलो छैन अहिले चुनाव,प हिलाजस्तो सजिलो छैन, एउटा उत्साह, उमंगमा वामगठबन्धन भयो, त्यही परिवेशमा चुनाव भयो स्थायित्वको लागि । अहिले त्यो उत्साह, उमंग छैन । त्यसैले इच्छा चाहना धेरैको हुन्छ तर, त्यहाँको परिस्थिति, परिवेश ख्याल गरेर को उठ्दा जनमत हुन्छ, त्यो ख्याल गर्नु पर्ने हुन्छ । इच्छा चाहाना त धेरैको हुन सक्छ ।
अब हिजो माधवकुमार नेपालले सरकारले काम गर्न सकेन भनेर असन्तुष्टि व्यक्त गर्नुभा छ । किन पार्टीकै शिर्ष नेताहरुले यो अभिव्यक्ति दिइराख्नुभएको छ ?
सरकारले काम त गरिराखेकै छ, गरेकै छ । निरन्तरताको हिसाबले, विगतका सरकारको हिसाबले, तुलनाको हिसाबले त गरिराखेकै देख्छु म । नयाँ संविधान बनेपछि जनताको नयाँ अपेक्षा, स्थायित्व दुई तिहाई नजिकको सरकारले र नयाँ संविधान बनेपछि गर्नुपर्ने जुन प्रभावकारी हस्तक्षेप थियो, प्रभावकारी भूमिका थियो त्यो रुपमा आउन नसकेकोले जनताले गुनासो गरिराखेका छन् । जनताको अपेक्षा अनुुसार हुन सकेन भन्ने कुरो चाहि आइराखेको छ । सरकारको कुरो गर्दा अहिले भईराखेको कामहरुलाई पनि हामीले सकारात्मक रुपमा लिनुपर्छ । तर, परिवर्तित परिवेशमा दुई तिहाईको नजिक पुगेको सरकारले गर्ने काम कारवाहीहरु, नयाँ संविधान बनेपछि गर्ने काम कारवाहीहरु फरक हुनुपर्छ ।
त्यसो भए फरक शौलीबाट सरकारले काम गर्न सकेको छैन ?
पहिला पार्टी फरक शौलीबाट सञ्चालन गर्नु प¥यो नि । देखि हाल्नु भयो पार्टी सञ्चालनको तरिका पुरानै छ । केही फरक छैन । यो पुरानो तरिकाबाट पार्टी सञ्चालन गरेर अनि सरकार सञ्चालन गरेर अनिजनताको आकांक्षा पुरा गर्छु भन्नु त्यो बेकारको कुरो हो । पहिलो कुरा पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्नु प¥यो । एउटा विधि मूल्य मान्यतामा पार्टीलाई सञ्चालन गर्नु पर्यो । वैचारिक राजनीतिक विकास पनि गर्नु प¥यो । त्यसो गर्दा चाहिं सरकारको काम प्रभावकारी हुन्छ । सांसदको काम पनि प्रभावकारी हुन्छ । मुख्य पार्टीको काम प्रभावकारी, व्यवस्थित नभईकन सरकारको र सांसदको पनि काम प्रभावकारी व्यवस्थित हुँदैन ।







