
चर्चित साहित्यकार राजन मुकारुङले विप्लव नेकपाप्रति आफ्नो सहानुभूति रहेको बताएका छन् ।
एक अनलाइन पत्रिकासँगको कुराकानीमा मुकारुङले आफुले जहिल्यै परिवर्तनकारी दललाई समर्थन गरिरहेको भन्दैं अहिले विप्लव नेकपालाई समर्थन गरेको बताए ।
मुकारुङले सरकारले विप्लव नेकपालाई लगाएको प्रतिवन्धको पनि आलोचना गरेका छन् । उनीसँगको कुराकानीको छोटो अंश ।
तपाईं सत्ताको समावेशिताभन्दा बाहिर जानुको कारण के हो?
हामी कहाँ व्यवस्थाका नामहरु मात्र फेरिए तर व्यवस्था चलाउनेहरुको चरित्र फेरिएन। पटक–पटक नेपाली जनता लडिरहेका छन्, राणाविरुद्ध, पञ्चायतविरुद्ध, राजतन्त्रविरुद्ध होस् या निरंकुशताका विरुद्ध।
जबसम्म ब्यवस्था चलाउनेहरुको प्रवृत्ति वा चरित्र फेरिँदैन तबसम्म सत्ता सीमित मानिसहरुको पहुँचमा हुन्छ। असीमित मानिसहरु अझै पनि न्यायबिहीन छन्। बोल्न, अगाडि आउन सकिरहेका छैनन्। म पनि तिनै मानिसहरुको एक झुन्ड न हुँ।
सुरुमा तपाईंको विचार तत्कालीन माओवादी पार्टीसँग निकट थियो। पछि संघीय समाजवादीतिर आकर्षित हुनुभयो। अहिले वैचारिकरुपमा कता हुनुहुन्छ?
माओवादीले तल्लो तहका मानिसहरुलाई संगठित गर्दै चेतनाको लहर ल्यायो। जातीय मोर्चाका कारण जातिहरु संगठित भएपछि समाज परिवर्तनमा सहज हुन्छ भन्ने उसको तौरतरिका एकदम राम्रो थियो। यी कुराहरु पार्टीमा रहँदासम्म मैले समर्थन गरिरहेँ। जब पहिलो संविधानसभामा ठूलो पार्टी बन्यो तब मलाई पार्टीलाई खबरदारी गर्नुपर्छ भन्ने लाग्यो। सत्ताले नेतालाई बिगार्छ भन्ने मलाई थाहा थियो। त्यसैले पार्टी संगठन पनि त्यागेँँ। उता मैले भनेजस्तै अवस्था पनि देखियो।
पहिचानको पक्षमा अशोक राईले संघीय समाजवादी खोल्नुभयो। मैले उहाँलाई तपाईंको पार्टीको पहिचानको मुद्दामा म पनि सहयोग गर्न तयार छु भनेर हङकङको एक कार्यक्रममा भनेको थिएँ। नेपाल आएपछि पार्टीको सांस्कृतिक महासंघको उपाध्यक्ष बनेर एक वर्ष काम गरेँ। त्यसपछि फेरि नेतृत्वमा युवालाई जिम्मेवारी दिनुपर्छ भनेर सो पद त्यागेँ। पछिल्लो समय जब सरकारले विप्लवलाई प्रतिबन्ध लगायो तबदेखि मेरो उप्रति समर्थन छ।
हामी गणतन्त्रमा प्रवेश ग¥र्यौँ पनि भन्ने र एउटा राजनीतिक शक्तिलाई प्रतिबन्ध पनि लगाउने? यो सुहाउँदो चरित्र नै भएन। त्यसैले मेरो विप्लवलाई सहानुभूतिपूर्ण समर्थन अलि बढी छ।







