
रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
समर्थक तथा शुभचिन्तक सडकमा उतारेर अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप लामिछानेमाथि लागिरहेको बेला प्रहरीले अनसन्धन रिपोर्ट सरकारी वकिल कार्यालयमा बुझाएको हो । अनुसन्धान प्रतिवेदनमा लामिछानेसहित तीनै जनाले पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको दाबी गरिएको छ । सोही आधारमा सरकारी वकिलको कार्यालयले तीनै जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
तीनै जनालाई एकै प्रकारको सजाय मागदाबी गरेको छ । मादीअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रुपैइा जरिवना मागदाबी गरिएको छ । मुलुकी अपराध संहिताको दफा १७७ र १८५ को कसुरमा उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिएका छन् । गत वर्षको भदौदेखि लागू भएको संहितामा आत्महत्या गर्न बाध्य पारेमा संहिताको दफा १८५ (२) मा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ ।
साउन ३० गते काठमाडौंबाट समातिएका तीनजनालाई दुई पटक गरी १० दिन थुनामा राखेर चितवन प्रहरीले अनुसन्धान गरेको थियो । मुद्दा दायर भएपछि आरोपितहरूसँग अदालतमा बयान लिन सुरु भएको चितवन जिल्ला अदालतले बताएको छ । आज अस्मिता कार्कीको बयान सकिएको छ । लामिछाने र कडेँलको बयान सोमबार लिने तयारी भइरहेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग गरी रिहा गर्ने वा सामान्य तारिखमा छाड्ने आदेश दिन सक्नेछ ।
पुडासैनी साउन २० गते नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको मोबाइल फोन सेटमा रेकर्ड भएको भिडियो फेला परेको थियो । जसमा पुडासैनीले लामिछाने, कँडेल र कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गरेको फोनमा भेटिएको भिडियो सञ्चारमाध्यमहरूमार्फत बाहिरिएको थियो ।
यसैबीच लामिछानेले समर्थकले चितावनमा विरोध प्रदर्शन जारी राखेका छन् । चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रदर्शन भइरहेको छ । लामिछानेलाई तत्काल रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले सडक अवरुद्ध पार्न खोजेपछि प्रहरीले साँझपख दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहारबाट करिव दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।







