
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधिले अहिले बजार तातेको छ । तत्काल कुनै पनि निर्णय गर्न नसकेकाले पनि पार्टी पछिल्लो समयमा अलमलमा पर्दै आएको छ । नेताहरुको स्वार्थ र गुटको लडाइले पार्टी दिनैपिच्छे शिथिल बन्दै गएकोमात्र छैन अहिलेसम्म उसले दिएको विश्वास पनि क्रमशः कमजोर बन्दै गएको छ ।
सचिवालय बैठक कहिले बस्दै बस्दैन, झुक्किएर बसेपनि कुनै निर्णय गर्न सक्दैन । पार्टीका नेताहरुको स्वार्थका कारण पार्टी संकटमा पर्दै गएको कुरा भनिरहनु पर्दैन । सचिवालयमा पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बलियो पकड जमाएर बसेका छन् । कसको पक्षमा निर्णय गर्ने भन्ने कुराले दिनैपिच्छे र छिनैपिच्छे बसेको बैठक पनि प्रभावकारी बन्न सकेको छैन । बिहीबारमात्र सचिवालय बैठकमा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको लडाइ पनि चानचुने थिएन । यतिसम्म कि न त नेपालले ओलीलाई चित्तबुझ्दो ढंगले स्वास्थ्यलाभको कामना गर्न नै सके न त ओलीले नेपालको अस्तित्व नै स्विकारे । अन्ततः द्धन्द्ध र असहमतिका बीच नै ओली स्वास्थ्य उपचारका लागि सिंगापुर हानिए । आफूलाई कुनैपनि रोग नलागेको र अझै धेरै समय बाँच्ने मन छ भनेर भनेका ओलीको स्वास्थ्यमा जटीलता देखिएको समाचारस्रोतको दावी छ ।
ओलीलाई अझैपनि प्रधानमन्त्री भएर देश बनाउने भन्दा पनि भइरहेको व्यवस्थालाई संकटमा पार्ने मन छ भन्दा फरक पर्दैन । सरकार बनेको १८ महिना कटिसकेको छ तरपनि जनताका पक्षमा देखिने काम भएका छैनन् । सरकार एकपछि अर्को गर्दै निरंकुश पाराले अघि बढ्दै गएको छ । हिजो निर्वाचनमा जाँदा जनतामाझ गरेका बचनवद्धतालाई भुलेर एकलौटी पाराले जाँदा यो यात्रा नेकपालाई पक्कै पनि सुखद् छैन । सरकार कसको छ वा छैन भन्ने जनताको चासो होइन केवल जनताले त सरकारबाट मैले के पाएँ भनेर खोज्ने नै हो । ५ वर्षको सरकार हो त्यसैले पनि अहिले नै केही गर्नु पर्दैन भन्ने गलत सोचका कारण सरकार निर्लज्ज बनेको छ । सुरुवातका लक्षण राम्रो नभएपछि देखिएको जनताको आक्रोशलाई वेवास्ता गर्दै जाने हो भने नेकपाको आगामी दिनमा पनि शंका गर्नुपर्ने हुन्छ । झण्डै २ वर्षअघि पार्टीएकता गर्ने अचानक घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सहमति पनि कसरी भयो भनेर खोजी गर्नुपर्ने विषय बनेको छ ।
दशैंमा टिको लगाइरहेका बेला गर्ने भनिएको एकताको सन्देश अझैसम्म राम्रो जान सकेको छैन । आफ्नै बुद्धिले एकताको बाटो तय गरेका कि कसैले ठेक्का लिएर टेण्डर पारेको हो भन्ने प्रश्न अझैसम्म अनुत्तरित छ । पार्टी एक भइनसके पनि विचार र भावनामा एकता भएजस्तो गरेर प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनमा होमिएको नेकपालाई अहिले आफ्नै मत घाँडो भएको छ । एकताको प्रक्रियाबाट एमालेलाई केही भयो कि भएन , घाटा वा फाइदा भन्दा पनि माओवादीका अध्यक्ष प्रचण्डले भने भरपुर फाइदा लिएका छन् ।
२०६४ सालमा जनतालाई फकाएर भोट मागेका प्रचण्ड र माओवादीले पनि जनतालाई धोखा दिएपछि र गर्छु भनेको काम नगरेपछि २०७० सालको संविधानसभामा आएको माओवादीको परिणाम बुझे भइहाल्छ । निर्वाचन हरेक ५–५ वर्षमा हुनुपर्ने छ तर कहिलेकाँही आफु अनुकुल नहुने भएपछि निर्वाचन सार्ने र अनुकुल वातावरण खोज्ने पुरानै रोग हो । आफ्नो पक्षमा जनता छैनन् र माओवादीले सोलोडोलो पारेर मत लान्छ भन्ने बुझेका भए शायद २०६४ सालमा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले पनि निर्वाचन चाहँदैनथे होला र २०७४ मा शेरबहादुर देउवाले पनि । २०७० मा माओवादीको लज्जास्पद हार भएपछि देशव्यापी रुपमा धाँधली भएको भन्न भ्याएको माओवादी फेरि पनि लाज पचाएर हिँडेको छ ।
आफूले जितेका २४ वटा निर्वाचन क्षेत्रमा मात्र निश्पक्ष निर्वाचन भएको र नेपाली कांग्रेस, नेकपा एमाले र अरु पार्टीले चाँही जितेको ठाउँमा धाँधली भएको भन्न सुहाउँथ्यो कि सुहाउँदैनथ्यो । निर्वाचनमा दिएको परिणाम भनेको काम गर्नको लागि हो तर गफैमात्र गरेर समय बिताउने हो भने त्यसको अर्थ छैन । समयमा केही गरेर नदेखाउनेले अबका दिनमा पनि गर्छन् भन्ने आशा जगाउँदैनन् । सरकार केपी हो कि पार्टीको हो भन्ने प्रश्न नै अनुत्तरित छ । सरकारको बारेमा पनि प्रचण्ड खुलेर बोलेका छैनन्, बोलौं भने जनताको जिवन छुने गरी काम भएको छैन , नबोलौं भने ओलीको दबाब । समग्रमा भन्नुपर्दा प्रचण्ड पनि यो सरकार राम्रो होस् र ओली सफल हुन् भन्ने चाहँदैनन् । राजनीतिमा इमानदारिताको खडेरी लागेको छ तरपनि प्रचण्डले सहमति अनुसार शेरबहादुर देउवालाई सरकार छोडिदिएर उदाहरणीय काम गरेका छन् ।
१० महिनाको आफ्नो कार्यकाल सकिनेबित्तिकै उनले देउवालाई सत्ता हस्तान्तरण गरे । यसअघि भएको भद्र सहमतिअनुसार ओलीले प्रचण्डलाई सरकार नछोड्दा ओली र प्रचण्डको काटाकाटको अवस्था थियो । यतिसम्म कि ओलीले प्रचण्डलाई राँची लानुपर्छ समेत भने । राँचीमा पागलहरुलाई लगिन्छ र उपचार गरिन्छ ।
सत्ताको भोक लागेपछि मानिस घमण्डी हुन्छ । हाम्रा नेताहरु पनि त्यही शिकार भएका छन् । कसैको प्रधानमन्त्री जागिर ५ वर्ष टिकिरहनु स्थायी सरकार होइन तर त्यसबाट काम के भयो भन्ने कुरा प्रमुख हो । अहिलेको अवस्था हेर्दा ओलीले भद्र सहमतिलाई मान्छन् भन्ने पनि देखिँदैन किनकि हिजो उनको गतिविधि पनि त्यस ढंगको थिएन । नेकपा नाममात्रको पार्टी बनेको छ उसले अझैसम्म कार्यकर्ताको व्यवस्थापन गर्न सकेको छैन । विभिन्न विभाग र कमिटीमा पनि २ वटा पार्टी र त्यसभित्र झाँगिएका गुटको राम्रो खेती भएको छ । भागबण्डाकै आधारमा सबै काम अघि बढेका छन् त्यसैले पनि एकता भएको भनेर जतिसुकै हल्ला गरेपनि एकता टाढिएको छ । कार्यकर्ताको व्यवस्थापन हुन नसक्दा तल्लो तहसम्म पार्टीको बचाउमा लाग्ने मान्छेसमेत पाइन छोडेको छ ।
पछिल्लो समयमा स्कुल विभाग र अन्य विभागको बिबादले उग्र रुप लियो । के काम गरेर देखाउन पद नै चाहिन्छ त ? भन्ने प्रश्न उठेको छ । पद ओगटेर बस्ने पुरानै रोग हो । ईश्वर पोखरेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पाएका छन्, सचिवालय सदस्य पनि हुन् मलाई पद पुग्यो अब म जनताको काम गर्छु , यो पद खुस्कियो भने पनि म जनताको घरदैलोेमा गएर गरिब दुःखीको सेवा गर्छु भन्न सकेनन् । २ पटकसम्म काठमाडौं–५ बाट चुनाव हारेर बिजोगको सामना गरेका ईश्वरलाई अब पार्टीको काम गर्न कुनै पद नभएपनि हुन्छ । ओलीको पछि लागेर पटकपटक अवसर पाइरहेका पोखरेल हिजो नेकपा एमालेको महाधिवेशनमा महासचिव जितेका हुन् । उपमहासचिव बिष्णुप्रसाद पौडेलले यसअघि ओलीलाई लगाएको गुन तिर्न नै ओलीले पौडेललाई उपमहासचिवबाटमहासचिवमा बढुवा गरिदिए । नैतिकताका आधारमा हेर्ने हो भने त पोखरेलले असहमति जनाउनुपर्दथ्यो वा सचिवालयमा रहनुहुँदैनथ्यो । आफूभन्दा सानो मान्छेलाई महासचिव मान्नुको बिकल्प उनीसँग पनि रहेन ।
अब पार्टीले समयमै महाधिवेशन गर्ने भनेको छ तरपनि उनीहरुले भनेको समयमा महाधिवेशन हुन्छ भन्ने देखिँदैन । गाउँ, क्षेत्र र जिल्लाबाट प्रतिनिधि छानिएर आउँदा को कसका र कसरी आउँछन् भन्ने थाहा हुन्छ, महाधिवेशनमा ओली र प्रचण्ड नै अध्यक्षमा उठ्ने हो भने एकजनाले त हार्नैपर्छ । यो खतरा मोल्न कोही पनि तयार हुँदैनन्, यसको लागि सबैभन्दा सजिलो बिकल्प भनेको महाधिवेशन भाँड्नु नै हो । ओली रोगले ग्रसित छन्, उनको स्वास्थ्यलाभको कामना, उनी स्वस्थ्य भएर नेपाल फर्केपछि जनताको लागि थप काम गरुन् तर झनक राम्रो छैन, उनी पनि देश र जनताको नाम लिएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीको विरोध गरेर चर्चा कमाएका ओलीको त्यो इतिहास पनि यही कार्यकालबाट समाप्त हुँदैछ । ओली बिरामी परेपछि ओलीको खास मान्छे हँु भन्नेबाहेक अरुले प्रायजसो छोडेका छन् । प्रचण्डप्रतिको लगाव र मोह बढिरहेको छ केही नेताहरुमा ।प्रचण्डले सबैलाई मिलाएर लगेको खण्डमा उनी बलियो देखिन्छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र अरु नेता पनि प्रचण्डको पछि लाग्ने हो भने राजनीतिक समीकरणमा पुरै फेरबदल हुनेछ ।
प्रचण्डको पछि लागे मन्त्री र अरु पद पाइन्छ भनेर पछि कुद्नु पनि अस्वभाविक होइन । ओलीको यस्तै व्यवहार हुने हो र त्यस्तै छुद्रताको प्रदर्शन नरोकिने हो भने आगामी दिनमा ओलीको एउटा टुकडी र अरु सबै प्रचण्डतिर नजालान् भन्न सकिँदैन ।







