
हङकङका आन्दोलनका अगुवा मानिने अभियन्ता जोशुआ ओङलाई प्रहरीले गिरफतार गरेको छ ।
उनको डेमोसिस्टो पार्टीले ट्रेन स्टेसनमा हिँड्दै गरेको अवस्थामा उनलाई प्रहरीले जबर्जस्ती उठाएको जनाएको छ । त्यसपछि उनलाई प्रहरी हेडक्वार्टरमा लगिएको जनाइएको छ । प्रहरीले कुनैपनि कमेन्ट गरेको छैन ।
उनलाई तीन अभियोग लगाइएको बताइए पनि ती अभियोगको बारेमा भने जानकारी नदिइएको उनको पार्टीको भनाइ छ ।
उनलाई पूर्वनिर्धारित एक प्रदर्शनको अघिल्लो दिन पक्राउ गरिएको हो । सो प्रदर्शनको अनुमति सुरक्षा निकायले दिएको छैन । अर्का स्वतन्त्र अभियन्ता एन्डी चानले उनलाई पनि गएको बिहीबार राति हङकङबाट जापान जान लाग्दा पक्राउ गरिएको जनाएका छन् ।
प्रहरीले जनाएअनुसार गएको जुनमा प्रदर्शन शुरु भएयता ९०० जना मानिस गिरफ्तारीमा परिसकेका छन् ।
जोशुआ सन् २०१४मा हङकङमा भएको ‘अम्ब्रेल्ला प्रोटेस्ट’को क्रममा समेत महत्वपूर्ण भूमिकाका कारण चर्चामा आएका थिए । (बीबीसी)







