
सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली यतिवेला सिंगापुरमा रहेको नेश्नल युनिभर्सिटी हस्पिटलमा उपचार गराईरहेका छन् ।
उनको मृगौलासम्बन्धी उपचार भैरहेको छ, जुन उपचार प्रक्रिया भोलि पूरा हुने जनाईएको छ । प्रधानमन्त्री यही भदौ २० गते स्वदेश फर्किने नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
तर, ओली फर्कनुअघि नै उपाध्यक्ष गौतम र महासचिव सिंगापुर पुगेर स्वास्थ्यलाभ गर्ने बुझिएको छ । उनीहरु दुवै जना प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ।
ओली भेट्न वामदेवलगायतको टोली सिंगापुर जाने भएपछि सूर्य थापाले सामाजिक संजालबाट विरोध गरेका छन् ।
थापाले फेसबुकबाट नेताको दलाली गर्न उनीहरु सिंगापुर जान थालेको भन्दैं तीब्र आक्रोश व्यक्त गरेका छन् ।
थापाको फेसबुक स्टाटस –
सम्माननीय प्रधानमन्त्री तथा नेकपाका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरमा उपचाररत हुनुहुन्छ ।
नेपालबाट लर्को लागेर सिङ्गापुर जाने मान्छेहरूले विरामी भेट्न त खासै पाउदैनन् । यो कुरा तिनीहरूलाई प्रस्थान गर्नुपूर्व नै जानकारी हुन्छ । तैपनि हुल बाँधेर किन त्यता गएका होलान् ? विरामीलाई स्वास्थ्यलाभको कामना गरे पुग्नेमा किन यसरी डिस्टर्ब गरिरहेका होलान् ?
चाकडी, चाप्लुसी र चुक्लीको यो लज्जास्पद बानीमा कहिले सुधार होला ? जबकि पानी र बानी माथिबाट तलतिर प्रवाह हुने गरेको पाइन्छ । यसरी लर्को लागेर जानेहरूले गर्ने आतेजाते हवाई भाडा, होटल बसाइ, यातायात र अन्य न्यूनतम खर्च जोड्दा विरामीको उपचार खर्चभन्दा निकै बढी हुन जाने निश्चित छ।
खासमा सिङ्गापुर पुगेर उपचारमा बाधा पु-याउनेेहरू मित्र हुन् कि शत्रु त ? काम नहुनेहरूको हुलमुलप्रति गंभीर प्रश्न उठेको छ ! यसो गर्न आवश्यक नै छैन ।
यो हुल त यहाँ छॅदैथियो ! प्रधानमन्त्रीको उपचार यहाँ संभव नभएर नै त्यहाँ लैजानु परेको तथ्य हो । यो कुरा बुझ्नु पर्दैन ?
हनुमानहरूदेखि सावधान !







