विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेललाई लाभकरमा छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध मशाल जुलुस निकालेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले विहीबार साँझ राजधानमै एनसेललाई करछुट दिने फैसला गर्ने न्यायाधीशविरुद्ध नाराबाजी गर्दै मशाल जुलुस निकालेको हो । संगठनको उपत्यका क्षेत्रीय समन्वय समितिको अगुवाईका काठमाडौ, भक्तपुर, ललितपुरसहित क्याम्पस र त्रिभुवन विश्वविद्यालय कमिटीहरुले संयुक्त रुपमा मशाल जुलुस निकालेका थिए ।
यसैगरी अखिल क्रान्तिकारीले उपत्यका असपासका काभ्रे, नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोकसहित देशभर मशाल जुलुस निकालेको बताइएको छ ।
उपत्यकाका विभिन्न ठाउँहरुमा निकालिएको जुलुसपछि अखिल क्रान्तिकारीका नेताहरुले सर्वोच्च अदालतको पछिल्लो फैसला राष्ट्रघाती भएकोले आफूहरु संघर्षमा जानुपर्ने बाध्यता भएको बताएका छन् । उनीहरुले राज्यलाई कर नतिर्ने एनसेललाई बहिस्कार गर्दै देश निकाला गर्नुपर्ने भन्दै ‘एनसेल नेपाल छोड, करछुट दिने न्यायाधीश मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सर्वोच्च पछिल्लो फैसालाविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए । जसअनुसार आज देशभर फैसलाविरुद्ध मशाल जुलुस निकाल्ने कार्यक्रम थियो । नेकपाका कार्यकर्ताहरुले हिजो फैसला गर्ने न्यायाधीशहरुको पुत्ला जलाएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्वको इजलासको एनसेललाई लाभकर असुल गराउने फैसलाविरुद्ध न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुमलता माथेमा र मनोजकुमार शर्माको संयुक्त इजलासले पछिल्लो विवादित फैसला गरेको थियो ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणको इजलालसले ३ वैशाख २०७६ मा मा ठूला करदाता कार्यालयले निर्धारण गरेको रु. ६२ अर्ब ६३ करोड तिर्नुपर्ने फैसला गरेको थियो । पाँच न्यायाधीशहरुको संयुक्त इजलासले आफ्नै फैसलालाई बदर गरेको हो । उनीहरुले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १०१ आकर्षित नहुने फैसला गरेका थिए । एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्रै कर निर्धारण गर्नुपर्ने उनीहरुले फसला गरेका छन् ।
फैसलापछि नेकपा, सामाजिक अभियान्ता र सर्वसाधारणले कडा विरोध गर्दै एनसेललाई करछुट दिने फैसला राष्ट्रघाती भएको बताउँदै आएका छन् ।







