सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भैसकेको स्पष्ट पारे। उनले भने, ‘हाम्रो पार्टी अहिले सत्तामा छ। वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन्। सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ। त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ।’

ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको सुनाए। तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाई छ। उनले अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे।

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे। उनले भने, ‘हामी चीन र रुसलेजस्तो चलाउन सक्दैनौं। सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ। त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ। पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ। उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार