जनताले बुझ्ने अझ सरल भाषामा भनिदिनुस् न अब यो देशमा वैज्ञानिक समाजवाद कि राजतन्त्र ?

विकल्प भनेका धेरै नै हुन्छन्, यो सही हो । विकल्प भन्ने शब्दको सारलाई पकड्नुभयो भने सापेक्षिक रूपले अग्रगामी विकल्पलाई नै विकल्प मानिन्छ । भएको भन्दा पश्चगमनतिर जानुलाई विकल्प मान्न सकिँदैन । शब्दमा विकल्प भन्ने शब्द हो तर सारमा राजनीतिक गहिराइमा गएर हेर्ने हो भने विकल्प भनेको अग्रगामी विकल्प भन्ने नै हो । पछाडि हट्ने होइन, अगाडि बढ्ने हो । किनभने अहिलेसम्म त सबै परीक्षण भैसक्यो नि त नेपालमा । नेपालमा राणाशासन अन्त्य भयो ।

जनताले अर्को विकल्प खोजे । पञ्चायत आयो, राजतन्त्र आयो । त्यसलाई जनताले हेरे र त्यसमा सन्तुष्ट नभएपछि विकल्प खोजे । त्यसपछि बहुदलीय व्यवस्था आयो । त्यसले पनि जनताका आवश्यकता पूरा गर्न नसकेपछि जनताले त्यसको पनि विकल्प खोजे । त्यसपछि महान् जनयुद्ध चल्यो । अहिले जनताको इच्छाविपरीत हिजो प्रयोग भएका र असफल भएपछि अब योभन्दा अग्रगामी तरिकाले रूपान्तरणकारी विकल्प भनेपछि त्यो वैज्ञानिक समाजवादी व्यवस्था हो भनेर बुझ्नुपर्ने हुन्छ । संसदीय व्यवस्थाको विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था हुन्छ ।

त्यसको मतलब राजतन्त्र परीक्षण भै सक्यो । जनताले त्यसलाई हेरिसके भन्ने भयो तर यसो भनिरहँदा बाहिर राजावादी र तपाईंहरूलाई सँगै जोडेर हेर्ने गरिन्छ नि के हो वास्तविकता ?

नेपालको सन्दर्भमा राजावादी र नराजावादी भनेर बहस चलाइन्छ, यो औचित्यहीन बहस हो । हाम्रो कुरा के हो भने संसदीय व्यवस्था र दलाल संसदीय पुँजीवादी गणतन्त्रको सट्टामा वैज्ञानिक समाजवादी गणतन्त्र नेपाली जनता उत्तम व्यवस्था हो हामीले भनेका छौँ । अरू जो तर्क आउँछन् हाम्रो दृष्टिकोणमा भ्रम छर्नका लागि, जनतालाई अग्रगामी परिवर्तन र रूपान्तरणमा लैजान जुन प्रयत्न गरेका छौँ, यसको विरुद्धमा चलाइएको दूषित हावा मात्र हो भनेर बुझ्नुपर्दछ ।

अर्को कुरा जहाँसम्म राजतन्त्रको कुरा आउँछ र अलि बढी सक्रिय राजतन्त्रको कुरा आउँछ, यस हिसाबले ऐतिहासिक रूपले विश्व राजनीतिक आन्दोलन र सभ्यताको हिसाबले पनि यो लगभग समाप्त भैसकेको कुरा हो । नेपालको हकमा पनि योभन्दा धेरै अघि बढिसकेको अवस्था हो । अरू विषयमा हरनागरिकसँग छलफल र बहसहरू खुला हुन्छन् भन्ने कुरामा हामीले भन्नुपर्ने केही छैन । यसमा केही समस्या छैन ।

रातोखबर साप्ताहिकसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार