
गाउँपालिकाको गाडीमा आगो लगाइएको छ । सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको हो ।
गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।
टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो ।
उहाँले यस अघि आफूलाइ काँही कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न गाह्रो भएको बताउनुभयो ।
गाडी पूर्ण रुपमा क्षति भएको भए पनि अन्य कुनै क्षति नभएको स्थानीय शिक्षक धर्मराज घर्तीले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु गरेको छ ।







