अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी गोली प्रहार भएको छ । गोली हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
आइतबार साँझ ७ बजेतिर गाउँपालिकाको सेन्टर मुजाबगरस्थित आफ्नै कोठामा बसिरहेको अवस्थामा गहुँ गोरो वर्णको अन्दाजी ५ फिट ३ इन्च उचाइ भएको अपरिचित व्यक्तिले गाेली प्रहार गरेकाे हाे ।
उक्त व्यक्तिले चलाएको गोली भुईमा लाग्दा मानवीय क्षति भने नभएकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए । उनका अनुसार तत्काल घटनास्थल पुगेको प्रहरी टोलीलाई देखेर भागेको उक्त व्यक्तिलाई पक्राउ गर्न खोज्दा कैलास खोलामा हाम फालेको प्रहरीले जनाएकाे छ । उनकाे खोजी कार्य भइरहेको छ ।
घटना स्थलमा शान्तडा प्रहरी चौकीमा कार्यरत सहायक निरीक्षक भरत बहादुर रोकायको टोली खटिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा ११ जनाको प्रहरी टोलीसमेत खटाइएको छ । अहिलेसम्म कुनै समूहले घटनाबारे जिम्मा लिएको छैन । नयाँपत्रिकाबाट ।







