
अछामको कमलबजार नगरपालिकामा विप्लव नेकपाले गए राति बम विस्फोट गराएको छ ।
राति करिब पौने १ बजे नगरपालिका कार्यालय परिसरमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।
बम विस्फोटबाट खासै क्षति नभएको प्रनाउ शाहीले बताए । बिजुलीको तारको उपयोग गरी करीब १०० मिटर टाढा रिमोटको सहायताबाट बम विस्फोट गराइएको प्रहरीको दावि छ।
प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए ।
यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्षित गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
नगरपालिका कार्यालयमै बम विस्फोट भएपछि असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाउन तयारी गरिरहेका नगरपालिका कर्मचारी र स्थानीयबासी त्रसित बनेका छन् ।







