संविधान दिवसकै दिन भोजपुरमा पनि शक्तिशाली कुकर बम विस्फोट भएको छ ।
भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
अज्ञात समूहले शुक्रबार बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले स्वीकार गरे ।
विस्फोट भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेकपाको पर्चा भेटिएको खुल्न आएको छ ।
त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







