
सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेताहरुलाई विदेशको नक्कल गरेको भन्दैं घुमाउरो पाराले चीनको विरोध गरे ।
नेपालमा चीकपा र सत्ताधारी नेकपाको संयुक्त अन्तक्रिया कार्यक्रममा बोल्दैं ओलीले राम्रो नक्कल गरेर चीन अहिले सुन्दर देखिएको आरोप लगाए ।
आफुभन्दा अगाडि बोलेका चिनियाँ नेतालाई झटारो हान्दैं ओलीले नेपालमा आफुहरुभिन्दैं ढंग (संसदीय व्यवस्था र बहुलवाद)बाट अगाडि बढेको भन्दैं यसबारे आफुहरुलाई कसैले निर्देशन नदिन चेतावनी समेत दिए ।
ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुकै सामुन्नेमा भने, ‘जतिसुकै सुन्दर भए पनि नक्कल नक्कलै हो… जुत्ताको नापमा खुट्टा काट्ने होइन, परिस्थितिको ठोस विश्लेषण गर्दै आ-आफ्नो धरातलीय यथार्थका आधारमा सिर्जनात्मक हिसाबले मार्क्सवादको प्रयोग हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले चीन र नेपालका विशेषताहरु फरक भएको बताउँदै चीनको भन्दा नेपालले केही फरक ढंगबाट मार्क्सवादको अभ्यास गरिरहेको बताए ।
‘चीनको तुलनामा हाम्रा आफ्ना केही भिन्न विशेषताहरु छन् । हामीले मार्क्सवादलाई आफ्नै विशेषता र चुनौतीहरुको सामना गर्न स्थानीयकरण गरेका छौं’ प्रधानमन्त्रीले भने, ‘संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवअधिकार, शक्ति पृथक्कीकरण, शक्ति सन्तुलन र स्वतन्त्र न्यायपालिका समाविष्ट भएको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली हामीले अंगीकार गरेका छौं ।’
चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाका नेताहरुवीचको छलफल कार्यक्रमका प्रमुख अतिथि रहेका प्रधानमन्त्री ओलीले नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली स्पष्ट पार्दै भने, ‘प्रतिस्पर्धामा आधारित बहुदलीय व्यवस्था हाम्रो शासन प्रणालीको आधार हो । हामी बहुलताको सम्मान गर्छौं । देशको विकास प्रतिस्पर्धात्मक प्रणालीबाट नै गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीले अरुको अनुकरण गरेर अगाडि बढ्न नसकिने भन्दै मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिनुपर्ने बताए । उनले भने, ‘राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिँदैन । मार्क्सवादलाई हरेक देशले आफ्नो मौलिक ढंगबाट प्रयोग गर्नुपर्छ ।’
चीन र नेपालको शासन प्रणालीको आ-आफ्नै मोडेल रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘चीनले आफ्नै मोडल बनाएको छ, नेपालले पनि अन्तरराष्ट्रिय परिवेशअनुसार आफ्नै मोडल बनाएको छ ।’







