
जिल्लाको रास्कोट नगरपालिकामा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार सरकारद्वारा प्रतिबन्धित नेकपाले जिल्लाको रास्कोट नगरपालिकाको आरसिपी बजारमा मार्चपास सहित विरोध प्रदर्शन गरेको हो।
वर्तमान सरकारले राजनीतिक शक्तिलाई प्रतिबन्ध लगाएर आफुहरु विरुद्ध दमन गरेको भन्दै नेकपाले विरोध प्रदर्शन सहित विरोध सभाको आयोजना गरेको छ। विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी कालिकोट जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराटले आफुहरुमाथिको दमन नरोकिए जनप्रतिनिधिलाई गाँउबाट लखेट्ने चेतावनी दिए।
सरकारको प्रतिबन्धको सामना गर्दै आफुहरु निरन्तर क्रान्तिको बाटोमा अघि बढिरहेको भन्दै नेकपाका नेता बिराटले जस्तोसुकै चुनौती र अवरोधको सामना गरेर पनि एकीकृत जनक्रान्तीलाई सफल बनाउने उद्घोष गरे।
कार्यक्रममा नेकपा निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य साहसीले बैज्ञानिक समाजवादी व्यवस्थामा मात्र दलितको हक अधिकार सुनिश्चित हुने बताए। उनले विगतको १० वर्षे जनयुद्धमा दलित समुदायले गरेको लगानी र बलिदानी अहिलेको सत्रारुढ नेकपाले बेची खाएको आरोप लगाए।
उनले भने, ‘हामीले विगतको दश वर्षे जनयुद्धमा गरेको लगानी र बलिदानीको अपमान भएको छ। यसको बदलामा आम दलित समुदायहरु एकीकृत जनक्रान्तिको पक्षमा उभिन जरुरी छ। प्रचण्ड र केपी ओलीले कम्यूनिष्टको खोल ओडेर आम सर्वहारा वर्गहरुको बलिदानी र नेपाली जनताको चाहानाको होली खेलेका छन्।’
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदीपले नेकपाको जनपक्षीय नीति कार्यक्रमदेखि तर्सिएर वर्तमान सरकारले आफूहरुप्रति प्रतिबन्ध लगाएको बताए। उनले पार्टीले निर्देशन गरे एकै रातमा सम्पुर्ण स्थानीय सरकार कब्जामा लिने क्षमता आफुसंग रहेको भन्दै सरकारको दमन नरोकिए आफ्नो धैर्यताको बाँध टुट्न सक्ने चेतावनी दिए।







