
नेपाली कांग्रेसका नेता गगन कुमार थापाले वैचारिक रुपमा टाट पल्टिएपछि चिनियाँ कम्युनिष्ट पार्टीलाई नेकपा बेच्न लागिपरेको आरोप लगाएका छन् ।
जिल्ला कार्यसमिति जुम्लाले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जुम्लाको सदरमुकाम खलंगा पुगेका नेता थापाले यस्तो बताएका हुन् ।
नेता थापाले भने,’ मुलुकलाई समृद्ध बनाउने कुनै काम गर्न नसकेपछि संविधान कार्यान्वयन गर्ने कुनै योजना नभएर जनताबाट टाट पल्टिएपछि चिनियाँ पार्टीलाई नेपाली जनतामा बेचेर बचपन चरित्र प्रस्तुत गरेको छ। यसले नेपालको स्वत्रन्त्रतामा समेत प्रश्न उठाएको छ ।’
थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अयोग्य मात्र नभइ बेइमान रहेको आरोप लगाए । उनले भने ,’ यो सरकार अयोग्य मात्र होइन बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कहिपनि छैनन् । कर्णालीबासी छैनन, कर्णालीको जडिबुटि छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन, विद्यालयमा शिक्षक छैन विद्यार्थी छैन र सरकार पानीजहाजको रोमान्चित गफमा भुलिरहेको छ ।’
नेता थापाले संविधान जारी भएपछिको वर्तमान व्यवस्था जोगाउन नेपाली कांग्रेसले जनताको सडकमा साथ खोजेको सुनाए ।
उनले भने,’ जनता संरकारसँग रिसाउन पाउछन् तर सरकारको व्यवस्था बिरुद्ध बोल्नेसँग हैनI हिजो हामीले पञ्चायत फाल्यौ राणा शासन फाल्यौ । यो व्यवस्था जोगाउन कांग्रेस जनताको साथ चाहन्छ । कांग्रेसले सडकमा जनताको साथ खोजेको छ ।’







