
धमाधम काम गरेर नेताहरूले हिजोका आफ्ना त्रुटी सच्याइरहेका छन् भन्न सकिन्न ?
छैन, छैन । गल्तीमाथि झन गल्ती थपिँदैछ । त्यसको चाँङ लाग्दैछ ।
—– ————- ——– —————-
अब राजनीतिक संघर्षको कुरा गर्दा, कम्युनिष्ट पार्टीले संघर्षका थुप्रै विधि अपनाउँछ । ती विधिमध्ये हिंसात्मक संघर्ष हुन्छ । त्यसका पनि मूलः दुईवटा बाटा छन् । एउटा जनविद्रोह संगठित गर्ने, अर्को दीर्घकालीन जनयुद्ध । शान्तिपूर्ण जनसंघर्षका पनि थुप्रै रूपहरू छन्, आयाम छन् । जस्तो, ट्रेड युनियन संघर्ष, जनसंगठनहरूले गर्ने संघर्षहरू, संसदीय संघर्ष, चुनावी संघर्ष आदि । संघर्षको कुनबाटो अपनाउने ? हिंसात्मक या हिंसारहित ? भन्ने कुरा समय परिस्थितिले निर्धारण गर्ने कुरा हो । यी दुईवटा पार्टीहरू जसका हामी सन्तान हौँ, जुन पार्टीमा आज हामी छौँ, यी दुवैमा पनि अतितमा पनि अति थियो । जस्तो, एमालेको आफ्नो पूर्वस्थिति हेर्ने हो भने, कुनै एक समयमा हिंसाबाहेक अरु सबै भ्रम हो भन्ने थियो । अझ, जसका नग्राँहरू वर्गशत्रुको रगतले भिजेको छैन, त्यसलाई कम्युनिष्ट भन्ने अधिकार छैन भन्ने खालको नारा लिइन्थ्यो । यता, माओवादीले पनि संगठनको रूप नै सेना र संघर्ष नै युद्ध हो भनेर दशवर्षसम्म हिंसात्मक संघर्ष सञ्चालन ग¥यो । अनि, केही समय पहिला एमाले र केही समयपछि माओवादी दुवै फेरि शान्तिपूर्ण मात्रै संघर्ष गर्ने र हुँदाहुँदै संसदीय संघर्ष मात्रै गर्ने, चुनावमा मात्रै भाग लिने सोचमा आए । चुनावदेखि चुनावसम्म मात्र जान त यस्तै संगठनले काम चलिहाल्छ नि । तपाईंलाई समाजमा ठूलो परिवर्तन ल्याउनु छैन भने समाजलाई रुपान्तरण गर्नु छैन भने किन चाहियो बलियो संगठन ? किन चाहियो पद्धति ? किन चाहियो राजनीतिक कार्यक्रमहरू ? यथास्थितिलाई जोगाइराख्ने कुरा न हो । अहिले नेपालमा यहाँको जो सामाजिक आर्थिक व्यवस्था छ, सामाजिक आर्थिक सम्बन्धहरू छन्, त्यो त बिल्कुल उदारपुँजीवादकै डक्ट्रिनमा हिँडेको छ । त्यसबाट ‘डिपार्ट’ गर्ने, सम्बन्ध बिच्छेद गरेर अगाडि बढ्ने प्रयास भएको छैन ।
भनेपछि दुई पार्टीबीचको एकता मूलतः चुनावदेखि चुनावसम्मको मात्रै कार्यनीति हो, त्यहाँदेखि अगाडि जान होइन । नेताहरूले समाजवादतिर जाँदैछौँ भन्दैछन् नि ?
भन्नलाई त जे भने पनि भयो । तर, गरेको हुनुप¥यो नि, जनताले अनुभूत गनुप¥यो नि । हामीले गरेको कामलाई हेर्नुप¥यो, एक्सन के छ भनेर । एक्सनमा समाजवादतिर गएको देखिँदैन ।
संविधानमै संविधानउन्मुख भनेर लेखिसकियो नि ?
संविधानमा लेखिदिएर समाजवाद आउने भए साम्यवाद नै लेखौँ न, आउँछ त ? आउँदैन नि । समाजवाद भनेको त एउटा संघर्ष हो, ‘क्लास स्ट्रगल’ हो, जहाँ तपाईंले उत्पीडित गरी खाने वर्गलाई राजनीतिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा श्रेष्ठ सावित गर्नुपर्छ, श्रेष्ठ बनाउनुपर्छ । अब दलालपुँजीपतिहरूसँग चन्दा लिएर, उनीहरूकै इसारामा सबै गतिविधि गरेर, उनीहरूले भर्दिएको चाँबीमा फन्फनी नाचेर आउने भए त अरु देशमा पनि आइसक्थ्यो, समाजवाद । मैले अहिले दुवै पार्टीका दुर्वल पक्षका चर्चा मात्र गरिरहेको छु, त्यसैले नकारात्मक लाग्न सक्छ । यिनका सवल पक्ष पनि छन् । तर, यी दुवैका दुर्वलपक्षमाथि गम्भीर समीक्षा नगरी अगाडि जान सकिँदैन ।
दृष्टि साप्ताहिकसँगको कुराकानीको सानो अंश ।







