नारायणमान बिजुक्छे ८० वर्षका भए । भक्तपुरका स्थायी बासिन्दा बिजुक्छे नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को भर्खरै सम्पन्न सातौं महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
उमेरले ८० कटेका बिजुक्छे अझै सक्रिय राजनीतिमा छन्, नेमकिपा स्थापनादेखि हालसम्मको अध्यक्षपनि उनै ।

२०३१ सालमा पार्टी स्थापनाकालदेखि नै अध्यक्षको जिम्मेवारी उनकै काँधमा छ । ७औं महाधिवेशनबाट पनि नेतृत्वमा सर्वसम्मत रुपमा बिजुक्छे नै चुनिए ।
भक्तपुरको राजनीतिमा लामो विरासत राख्दै आएका विजुक्छेले यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्लान् भन्ने धेरैको आँकलन थियो । तर त्यस्तो भएन ।
नेपाली राजनीतिक नेतृत्वको इतिहासमा सबैभन्दा लामो समय र निरन्तर अध्यक्षका रुपमा नेतृत्व गरिरहेका बिजुक्छेलाई नै किन रोज्छ पार्टीले ? आम चासोको विषय भएपनि पार्टीका आन्तरिक विवाद हम्मेसी बाहिर नआउने यो पार्टीको नेतृत्वको विकल्पमा कार्यकर्ता तहमा एकदमै कम बहस हुने गरेको छ ।
पार्टीले प्रत्येक पाँच बर्षमा नियमित महाधिवेशन गर्दै आएको छ । यसपटकपनि विजुक्छे नै किन पुनः अध्यक्षमा आए त भन्ने विषय नेमकिपाको गर्भमा नै छ ।
पार्टी अध्यक्ष किन तपाईमात्रै रहनुहुन्छ भन्ने प्रश्नमा उनको एउटै जवाफ हुन्छ, ‘नेपालमा अझै समाजवादी आन्दोलनको खाँचो छ त्यसैले मेरै नेतृत्व आवश्यक छ ।’
उनले भनेजस्तो पार्टीभित्र समाजवादी आन्दोलनको नेतृत्व लिनसक्ने उनी ‘एक्ला’ भने होइनन् ।
पार्टीमा थुप्रै अनुभवी नेता हुँदाहुँदै पनि नेतृत्वमा किन बिजुक्छेलाई नै अघि सारिन्छ भन्ने विषयमा अध्यक्षभन्दा तल्लो वरियताका नेतादेखि कार्यकर्तासम्म जवाफ दिन चाहँदैनन् ।
पुनः निर्वाचित हुने आफ्नो निर्णय नभएको तर्क गर्दै बिजुक्छे भन्छन्, ‘यो मेरो निर्णय होइन, पार्टीको महाधिवेशनले जिम्मेवारी दिएका कारण जिम्मेवारी पुनः आएको हो ।’
२०४६ सालको आन्दोलन पछि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच सिट जितेको नेमकिपा हाल एक सिटमा खुम्चिएको छ । तर पार्टीको संसदीय मोर्चामा कमजोर उपस्थितिको दोष भने नेतृत्वका रुपमा बिजुक्छेलाई अहिलेसम्म गएको छैन ।
पहिलो संविधानसभाको निर्वाचनमा ७८ हजार हाराहारी मतका साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट २ र समानुपातिकमा २ सिट हासिल गरेको पार्टी दोस्रो संविधानसभासम्म पुग्दा प्रत्यक्षमा एक र समानुपातिकमा एक सिटमा खुम्चियो ।
संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सिट र प्रदेशमा एक सिटमा मात्र पार्टीका उम्मेदवारले जीत दर्ता गराए ।
तल्ला तहका नेताहरु भने क्रमशः पार्टीका गतिविधि कमजोर हुँदैजाँदासमेत मौन छन् ।
भक्तपुर–१ मा मात्र कायम रहेको नेमकिपा अबको दिनमा के हुन्छ मात्र होइन नेमकिपालाई कुन दिशामा लैजाने भन्ने जिम्मेवारीसमेत अबको पाँचबर्ष बिजुक्छेकै काँधमा पुगेको छ ।
सातौं महाधिवेशनले दिएको म्याण्डेट पूरा गर्दा बिजुक्छे ८५ वर्षका हुनेछन् । त्यसपछि नेतृत्वमा को भन्ने विषयमा समेत पार्टीका उपल्लो तहकै नेतासमेत बोल्न चाहँदैनन् ।







