नेपाल मजदुर किसान पार्टीका नवनियुक्त अध्यक्ष नारायणमान विजुक्छेले सत्ताधारी नेकपाले भन्ने गरेको समाजवाद उधारो समाजवाद भएको आरोप लगाएका छन् ।

सत्तारूढ दलले भन्दै आएको समाजवाद ‘उधारो समाजवाद’ भएको चर्चा गर्दै उनले जनताको आँखामा छारो हाल्न नेकपाले समाजवादको कुरा गर्ने गरेको बताए ।

एक एफएम रेडियोसँगको कुराकानीमा कसैले दिँदैमा समाजवाद नआउने प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले नेपाली जनता आफैँले समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता औल्याए ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आफू पार्टी कार्यकर्ता भएकोले महाधिवेशनले गरेको निर्णयअनुसार नै नेमकिपाको अध्यक्ष हुनुपरेको बताए ।

“पार्टी कार्यकर्ता भएकोले पार्टीको निर्णय मान्नु मेरो कर्तव्य हो”, उनले भने ।

नेमकिपामा तीन उमेर समूह–६० वर्षभन्दा माथि, ४० वर्षभन्दा माथि र २० वर्षभन्दा माथिका कार्यकर्ताले काम गरिरहेको बताउँदै उहाँले २० वर्ष उमेर समूहका कार्यकर्ताहरूको सङ्ख्या बढिरहेको जानकारी दिए ।

अध्यक्ष बिजुक्छेँले पुँजीवादी प्रजातन्त्रलाई पुँजीपति वर्गको सेवा गर्ने प्रजातन्त्रको रूपमा व्याख्या गर्दै नेमकिपाले व्यापक नेपाली जनताको हितमा जनताको प्रजातन्त्र अघि सारेको बताए ।

नेमकिपालाई कुनै ठाउँमा मात्र सीमित भएको भन्ने आरोप लगाउने मानिसहरूको सोच सङ्कीर्ण भएको धारणा राख्दै
उनले नेमकिपा अन्तर्राष्ट्रवादी पार्टी भएको प्रस्ट पारे ।

उनले भने, “पुँजीवादी सरकार फोहोर आहाल हो । पुँजीवादी सरकारमा गएको पार्टी सफा कम्युनिष्ट पार्टी हुनैसक्दैन ।”

अध्यक्षले बिजुक्छेँले नेपालको राजनीतिमा नेमकिपाले अँध्यारोमा बत्तीजस्तै प्रकाशस्तम्भको रूपमा काम गरिरहेको बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार