चिनियाँ कम्युनिस्ट पार्टीकाले तपाईंहरूलाई प्रशिक्षण दिइरहँदा वास्तवमा हामी कम्युनिस्ट नै रहेनछाँै, हामीले बुझेको केही रहेनछ, बुझ्न बाँकी धेरै रहेछ भन्ने लाग्यो ?

त्यस्तो लागेन । तपाईंलाई म उदाहरण दिन्छु, चिनियाँ कम्युनिस्ट पार्टी र हामीसँग करिब करिब विश्व कम्युनिस्ट आन्दोलनलाई बुझ्ने एउटै एउटै प्रकृतिका बुझाइ रहेछन् । उहाँहरूले निकै फरक ढङ्गले जनवादी केन्द्रीयताको संगठनात्मक प्रणाली भन्नुभयो । हामीले ३५।४० वर्षदेखि कम्युनिस्ट पार्टीको सिद्धान्त त्यही हुन्छ भनेर त्योसँग सम्बन्धित भेटेजति सामग्री अध्ययन गरेर बसेका थियौँ । उहाँहरूले नौ करोड पार्टी सदस्यको व्यवस्थापन यो सिद्धान्तले गर्छौं भनेर कुरा राख्दा हाम्रो निम्ति नयाँपन पनि भयो ।

तर कतिपय हामीले बुझेकै कुरालाई उहाँहरूले कसरी लागू गर्नुभएको रहेछ भन्ने गहिरोबोध पनि भयो । बरु हामीले कतै कतै छोड्दै गए जस्तो, त्यसबारे चासो हराउँदै गए जस्तो छ तर उहाँहरूले त्यसलाई सशक्तरूपमा समात्नु भएको रहेछ । जस्तो हामीले वर्ग, वर्ग दृष्टिकोण, सर्वहारा वर्गको नाम लिने कुरा निकै पातलो भएको छ । अपवाद मात्रै छ । तर उहाँहरूले सुरुमै त्यही भन्नुभयो । वर्ग, वर्ग दृष्टिकोण, वर्ग पक्षधरता, मार्क्सवाद, लेनिनवाद, माओ, जनवादी केन्द्रीयताको कुरा सुन्दै जाँदा कतै हामी बोधो हुँदै त गएका होइनौँ, कुरा बुझ्दा बुझ्दै पनि भन्ने अनुभव भयो ।

पार्टीमा वैचारिक बहस शून्य भएको अवस्थामा सी विचारधाराबारे प्रशिक्षण भइरहँदा त्यसलाई अवलम्बन गर्न सक्ने सम्भावना कति छ ?

कसले भन्यो विचारशून्य भएको भनेर ? विचार शून्य भएको छैन । जनताको जनवाद भन्ने विचारको खुड्किलो हुँदै संविधानमा लेखिएको समाजवादोन्मुख राज्यप्रणाली निर्माण गर्ने भनेका छौँ । हाम्रो प्रतिवेदनमा स्पष्टसँग आजको युगको मार्क्सवाद–लेनिनवाद भनेका छौँ । त्यो पनि एक प्रकारले वैचारिक दार्शनिक दृष्टिकोण हो । त्यसकारण विचारशून्य भन्ने हैन । चीनको प्रगति, विकास र उन्नतिको निम्ति चिनियाँ मोडलको समाजवाद भन्नुभयो उहाँहरूले । चिनियाँ मोडलको समाजवादलाई सी जिनपिङ विचारधारा भनेर सम्बोधन गरेका छाँै भन्नुभयो उहाँहरूले ।

नेपाली मोडलको समाजवाद पनि सी जिनपिङ लागू गर भनेर एकजना कसैले भनेन । किन त्यत्तिकै हो हल्ला गर्ने ? उहाँहरूले चीनको निम्ति चिनियाँ मोडलमा समाजवाद कायम गर्न सी जिनपिङ विचारधारा भनेका हौँ है भनेर भन्नुभएको छ । हामीले त्यसलाई लागू गर्ने, ग्रहण गर्ने भनेकै छैन । अरूले हो हल्ला गरेर सी जिनपिङ विचारधारा नेकपाले लिँदैछ भन्ने कुराको अर्थ, छेउ टुप्पो मिल्छ भन्ने लाग्दैन ।

रातोपाटी अनलाइनसँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार