पछिल्लो घटनाक्रमले प्रमाणित गरिदिएको छ कि, नेपाली समाजको ‘मानसिक सन्तुलन’ नै बिग्रिएको छ । कुनै तथ्य र प्रमाणका आधारमा होइन, व्यक्तिगत आग्रह–पूर्वाग्रहका आधारमा मानिस बहकिएका छन् । परिणामतः समाज नै खल्बलिएको छ ।

यसका थुप्रै दृष्टान्त छन् । सबै उल्लेख गरेर विषयलाई अतिभद्दा बनाउन जरुरी छैन । सुरुमा पछिल्ला दिन चर्चाको चुचुरोमा रहेको ‘महरा प्रकरण’बारे कुरा गरौं ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले भावुक हुँदै एउटा अनलाइन मिडियासँग भनिन्, ‘मलाई सभामुख कृष्णबहादुर महराले बलात्कार गरे ।’ उनले भनेको कुरा क्षणभरमा भाइरल भयो । सबैले पत्याए । महराको उछितो काडे । चौतर्फी दबाबपछि महराले अनुसन्धानलाई सहज बनाउँन भन्दै ‘म्यादी राजीनामा’ दिए ।

महराले राजीनामा दिएको साँझ अर्को एउटा भिडियो भाइरल भयो । एक अनलाइन मिडियासँग कुरा गर्दै रोशनीले भनिन्, ‘सभामुख महराले केही गर्नु भएको छैन । बलात्कार गरेको भनिएको दिन महरा सर मेरो डेरामा आउनु नै भएको छैन । कर्मचारी समायोजनप्रति चित्त नबुझेको आक्रोशमा आरोप लगाएकी हुँ । डिप्रेसनको औषधि पनि खाइरहेकाले यस्तो भएको हो । बा समानको मान्छेले त्यस्तो गर्ने कुरा कल्पनासमेत गर्न सक्दिनँ । केही मिडियाले अतिरञ्जित हल्ला गरे ।’

यससँगै विषयले अर्को मोड लियो । ‘सभामुख महराले बलात्कार गरेकै हो’ भनेर जबर्जस्त प्रमाणित गर्न खोज्नेहरूले ‘रोशनी पैसामा बिकेको’ हल्ला चलाइरहेका छन् । ‘महरा निर्दोष नै हुन्’ भनेर प्रमाणित गरिदिनुपर्ने मिडियाले अतिरञ्जित प्रचार गरेको’ दाबी गरिरहेका छन् ।

तर, सत्य के हो ? भन्नेबारे बुझ्ने प्रयास कसैले गरेका छैनन् । एक खेमालाई जसरी पनि ‘महरा सिध्याउनु’ छ । अर्को खेमालाई जोगाउनुपर्नेछ । अस्ति पनि रोशनीले महरालाई आरोप मात्रै लगाएकी हुन् । आरोप प्रमाणित भएको थिएन, छैन ।

कसैले कसैलाई लगाएको आरोप ‘भावुक बनेर’ पत्याइदिनैपर्ने बाध्यता छैन । श्रीमानले श्रीमतीसित समेत सहमतिबिना यौनसम्पर्क गर्न नपाइने कानुनबीच कसैले कसैलाई बलात्कार गर्नु जघन्य अपराध हो नै । तर, कसैले आरोप लगाउँदैमा पत्याइहाल्ने हाम्रो स्वभावले समाज बहकावतिर मोडिएको छ ।

रोशनी र महराको सम्बन्ध के थियो, के छ ? त्यो अर्कै पाटो हो । तर बलात्कार गरेकै हो भने विगतको सम्बन्धबारे समीक्षा जरुरी छैन । विगतमा सहमतिमा यौनसम्पर्क गर्ने गरेको र त्यो दिन बलात्कार गरेको भए पनि अपराध नै हो । तर, कम्तिमा आरोप सही हो कि होइन ? बुझ्ने हाम्रो हैसियत छैन ।

बलात्कार भएको हो कि होइन ? भनेर परीक्षण गर्न डिएनए चेक गर्न सकिएला । त्यतिबेला महरा त्यहाँ गएका हुन् कि होइनन् ? भनेर चेक गर्न महराको मोबाइलाको लोकेशन हेर्न सकिएला । मोबाइल ट्रयाक नै गर्न सकिएला । वा अरु थुप्रै आधारमा घटनाको सुक्ष्म अध्ययन गर्न सकिएला । तर सरकारी निकायले गर्ने अनुसन्धानलाई हामी विश्वास गर्दैनौं । अनि, आफ्नै आँखाले देखेजसरी महरालाई अपराधी करार गर्न हामी ज्यान फालेर लाग्छौं ।

महरा प्रकरण त एउटा ताजा घटना हो । ज्ञानेन्द्र शाहीप्रति आममानिसको दृष्ट्रिकोण सुन्दा अचम्म लाग्छ । उनीमाथि कुटपिट हुनु गलत हो । कुटपिट गर्नेमाथि कारबाही हुनुपर्छ । तर, उनले सामाजिक सञ्जालमा लोकप्रिय भएको दम्भमा गरेका हरहर्कत र बोली आपत्तिजनक छ । जसले बढी सरकारको सत्तो सराप गर्छ, ऊ नै समाजको प्रिय हुने स्थितिको परिणाम हो ज्ञानेन्द्रको लोकप्रियता ।

चर्को स्वरमा ‘उसले पनि भ्रष्टाचार गर्‍याे, त्यसले पनि गर्‍याे’ भनेकै भरमा ‘फेसबुके हीट’ भएका शाहीको नियत सही थिएन, छैन । धमिलो पानीमा माछा मार्ने दाउबाट प्रेरित शाहीको प्रवृत्ति गलत नै हो । देशका सम्पूर्ण निकाय खराब, ज्ञानेन्द्र शाही सही ! एकथरीलाई आहुति, युग पाठक, खगेन्द्र संग्रौला, अभी सुवेदी भन्दा पनि पुण्य गौतम खतरनाक विश्लेषक लाग्छन् । यस्तो केले बनायो ?

सस्ता प्रचार र लोकप्रियताका लागि मनलाग्दी भन्दै, भट्याउँदै हिँड्नेलाई प्रधानमन्त्री बनाऔं भनेर ‘फेसबुक क्याम्पेनिङ’ गर्नेहरूलाई के भन्ने ? यो समाजमा अघोरी बाबा हिट हुन्छन्, फेसबुक लाइभ गरेर आत्महत्या गर्छु भन्दै नौटंकी गर्ने रबिना वादीले समाजको लिड गर्छिन् ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पनि समाज नराम्ररी बहकियो । शालिकले रवि लामिछानेलाई आरोप लगाएर आत्महत्या गरे । तर, मान्छेलाई शालिकले आत्महत्या गरेकै होइन, हत्या गरेको हो भनिदिनुपर्ने । अनावश्यक फेक भिडियोलाई पत्याइदिनुपर्ने । आरोपित रवि लामिछानेलाई अनुसन्धान नै गर्न नहुने ! हाम्रो धारणा निर्माणको जग के हो ? एउटा राम्रो काम गरेपछि सबै गल्तीहरू पवित्र हुने हुन् ?

त्यस्तै, निर्मलाको बलात्कारपछिको हत्यामा स्थानीय मेयरका छोरा र एसपीका छोराको संलग्नता छ भन्दा मात्रै मान्छेले पत्याइदिने । नभए, जेजे भए पनि नपत्याउने ! यसरी आफैं फैसलाकर्ता हुन नपाए कमजोर भएको महसुस गर्ने धारणा निर्माण गराइदिने को हो ?

कसैलाई कोहीप्रति रिस उठ्यो, नचाहिँदो आरोप लगाइदियो भने हामी एकतर्फीको कुरा सुनेर आरोपितप्रति ज्यादा आक्रोशित भइहाल्छौं । आरोपित पीडित र आरोप लगाउने पीडक पनि हुन सक्छ । त्यसैले समाचारमा ब्यालेन्स अर्थात् सन्तुलन चाहिन्छ भनिन्छ । तर, अचेल न समाचार सन्तुलित हुन्छ, न समाचार सुनेर बनाइने धारणा ।

हामी पहिला धारणा बनाउँछौं । विरोध गर्नुपर्ने को हो ? समर्थन गर्नुपर्ने को हो ? भनेर धारणा बनाइसकेपछि अरु सामग्री हेर्छौं, पढ्छौ, सुन्छौं । आफ्नो धारणाअनुकुलका सामग्री देखे, सुने पत्याउँछौं । नभए शंका गर्छौं । हामीमा नराम्ररी नकारात्मकता गढेको छ ।

आलोचनात्मक चेत चहिन्छ । सत्तामाथि प्रश्न गर्नुपर्छ भन्दैमा हामी लगाम लगाएको गर्धनलाई यताउता चलाउन र नकारात्मक चश्मालाई फेर्न चाहँदैनौं । यसले समाजलाई अव्यवस्थित र असन्तुलित बनाएको छ ।

हामी सस्ता यूट्युबर, अनलाइन मिडिया र फेसबुक ग्रुप तथा पेजमा आएका अनर्गल प्रचारलाई पत्याएर धारणा बनाउँछौं । बहकिन्छौं । आफैं वकिल, पुलिस र न्यायाधीश बन्छौं । हाम्रो धारणा निर्माणको आधार के हो ? त्यो कतिको भरपर्दो र विश्वसनीय छ ? भन्ने ख्याल गर्दैनौं ।

सत्ता र शक्तिमा भएकालाई जसरी पनि नकारात्मक दृष्ट्रिले हेर्न हामी अभिशप्त छौं । फेसबुकमा आउने फेक भिडियोलाई पत्याएर कसैलाई कत्लेयाम गर्नमा मजा मान्छौं ।

हुन त समाज निर्माण र सोचको विकास कसरी गर्ने, गराउने भन्नेमा राज्यव्यवस्थाको हात हुन्छ । सत्तासँग ज्यादा आकांक्षा राख्नेहरू चाँडै निराश हुन्छन् । र, उनीहरूले भनेको नहुनेबित्तिकै सत्ताको सत्तोसराप गर्छन् । समाजमा बढ्दो नकारात्मकतालाई नियन्त्रण गर्न सन्देशबाहक माध्यमलाई व्यवस्थित गर्न जरुरी छ । चाहे त्यो मासमिडिया होस्, या सामाजिक सञ्जाल ।

कुन समाचार आयो भन्दा पनि कुन मिडिया आयो ? भन्ने कुराले ज्यादा अर्थ राख्छ । ठेकेदार, नेता, तस्करी सबैका आआफ्ना मिडिया छन् । उनीहरूले आफूअनुकूल सामग्री तय गरेर प्रकाशन, प्रसारण गर्छन् । अनि त्यसैलाई आधार बनाएर आमनागरिकले धारणा बनाउँछन् ।

यसर्थ, सन्तुलन बिग्रिएको समाजलाई सन्तुलनमा ल्याउन आवश्यक छ ।

शिलापत्रका लागि विमल नेपालले गरेको विश्लेषणात्मक रिपोर्ट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार