
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण गर्दै छन् । यस अवसरमा चीनबाट केही न केही ऐतिहासिक सम्झौता हुने र नेपालले लाभ लिने अपेक्षा ठूलै छ नि ?
यस्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि भएकै हो । त्यतिवेला कुनै धनी मामा लाहुरबाट फर्केको जस्तो अनुभव गर्न सकिन्थ्यो, जुनवेला मोदीले भ्रमण गर्दै थिए । मिडियाका साथीहरूले धेरै सेलब्रेसन गर्नुभयो । त्यसवेला मैले भनेको थिएँ– यो ‘मामा आए घोडा, पापा ल्याए सोली’ भनेजस्तो होइन । मोदी आफ्नो राजनीति वा स्वार्थ हेरेर चल्छन् । पछि मिडियाले नै लेखे– हात्ती आयो हात्ती आयो फुस्सा ! सी पनि कोही मामा होइनन्, पापा ल्याउने पनि होइनन् ।
चिनियाँ कम्युनिस्ट पार्टीसँगको सम्झौता अन्तर्राष्ट्रिय विभागले गर्यो, तर प्रशिक्षणचाहिँ स्कुल विभागले ग-यो । किन यस्तो भएको होला ?
कहिलेकाहीँ मुखले पानी नखाँदा नाकले खान्छ । नाकले खाएपछि स्वभाविकै रूपमा प्रतिक्रिया आउँछ । सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुने हो ।
सी आउनुअघि नेपालले कस्तो गृहकार्य गर्नुपर्ने थियो त ?
हाम्रो प्राथमिकता तय गर्नुपथ्र्यो । माओले हिजो चीनमा ठीक ढंगले प्राथमिकता तय गरेको भएर आज चीन संसारको शक्तिशाली भयो । किसानको पौरखमा अगाडि बढ्ने र देशी–विदेशी शिक्षा र स्वास्थ्यको अवधारणामा अभियान चलाए । आजको चीन बन्नुमा माओको देन छ ।
सुरक्षाको निम्ति आणविक शक्ति हासिल गरे । नदीहरूको नियन्त्रण र खाद्यान्नमा आत्मनिर्भर बनाए । हाम्रो जस्तो देशले शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा पार्नुपर्यो । त्यसपछि मात्रै बाहिरबाट सहयोग लिने र ऋण लिने कुरा हुन्छ । कसैले आएर देश बनाइदिने होइन । यो देश नेपालीले नै बनाउनुपर्छ ।
ढुक्क भएर काम गर्ने र ढुक्क भएर लेख्ने गर्नुपर्छ । पाहुनाहरू आउँछन्, स्वागत गर्ने सत्कार गर्ने हो । नाच्ने–गीत गाउने छँदै छ । तर, अहिलेदेखि नै नाच्नु र गीत गाउनु जरुरी छैन ।
नयाँ पत्रिकासँगको कुराकानीको सानो अंश ।







