भरतपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट मलंगवा सर्लाहीतर्फ जांदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो ।
मंगलबार राती सवा १२ बजे बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र ८ जनाका चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ती मध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
श्रीमती र छोरीलाई मारेर आफू पनि झुन्डिए
सुनसरीको इटहरी १७ मा दसैंको टिकाको दिन दर्दनाक घटना घटेको छ । मंगलबार एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत भेटिएका छन् ।
श्रीमान् झुन्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमान्ले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुन्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिए ।
श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुन्डिए को अवस्थामा फेला परेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान पुर्याएका थिए ।
अस्पतालले मृत घोषित गरेपछि फर्काएर लासलाई बेर्न कपडा खोज्नको लागि घरभित्रको टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको पोख्रेलले बताए । घरमै ६ वर्षकी छोरी स्वस्तीकाको समेत लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ । ‘श्रीमतीको टाउकोमा प्रहार गरेको देखिन्छ भने छोरीको टाउको लुलो अवस्थामा रहेकोले मुन्टो बटारेर मारेको हो कि जस्तो देखिन्छ,’ पोख्रेलले भने ।
लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिए को हुनसक्ने बताइएको छ ।
राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पोख्रेलले बताए ।







