चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि असोज २५ गते नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सीको भ्रमणको मिति सार्वजनिक गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्। राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन्।

सी र प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भेटवार्ताका क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछन्। परराष्ट्रले ती सम्झौता र समझदारीबारे भने खुलाएको छैन।

नेपालमा रहँदा सीले अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। उनी असोज २६ गते स्वदेश फर्कनेछन्।

सन् २०१३ मा चीनका राष्ट्रपति बनेका सी राष्ट्रपतिका रूपमा पहिलो पटक नेपाल आउन लागेका हुन्। उनको भ्रमणको तयारीस्वरूप एक महिनाअघि विदेश मन्त्री वाङ यी काठमाडौं आएका थिए। नेपालले उत्तरी छिमेकीका राष्ट्रप्रमुखलाई स्वागत गर्न काठमाडौंमा सरसफाइ र सिंगारपटार गरिरहेको छ।

सी भारत हुँदै नेपाल आउन लागेका हुन। सी काठमाडौं उत्रनुअघि भारतको चेन्नई नजिकैको ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच दुई दिने अनौपचारिक समिट हुँदैछ।

२३ व्र्षपछि चिनियाँ राष्ट्रपति नेपाल आउने 

योसँगै, २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।

त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो ।

सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार