चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि काठमाडौंमा तिब्बती शरणार्थी धमाधम पक्राउ पर्न थालेका छन्।

सीको भ्रमणमा तिब्बती शरणार्थीले विरोध प्रदर्शन गर्न सक्ने आँकलन गर्दै नेपाल प्रहरीले ‘स्वतन्त्र तिब्बत’ को नारा लेखेको टिसर्ट, झोला र ब्यानर प्रयोग गर्नेहरुलाई पक्राउ गर्दै अनुसन्धान थालेको हो।

चीनका राष्ट्रपति सी शनिबार दुई दिने नेपाल भ्रमणमा आउने कार्यतालिका परराष्ट्रमन्त्रालयले बुधबार सार्वजनिक गरिसकेको छ। सी असोज २५ गते भारतको चेन्नईबाट सोझै काठमाडौं आउने कार्यसूची छ। असोज २६ गते आइतबार उनी बेइजिङ फर्कने छन्।

केही दिनभित्र काठमाडौंको बौद्ध र ललितपुरको जावलाखेलबाट पाँच जना तिब्बती शरणार्थी र एक जना नेपालीलाई पक्राउ गरी सोधपुछपछि छाडिएको छ।

‘स्वतन्त्र तिब्बत लेखेको लोगो भएको ज्याकेट, टिम टीवेट–०८ लेखेको टिर्सट, ज्याकेट र झोला लगाएको र बोकेको अवस्थामा उनीहरूलाई पक्राउ गरी अनुसन्धानपछि छाडिएको हो’, एक जना उच्च प्रहरी अधिकारीले भने।

नेपाल प्रहरीको बौद्ध वृत्तका डीएसपी रमेशकुमार सिंहले तिब्बती शरणार्थीहरुका गतिविधिमाथि कडा निगरानी राखिएको बताए।

‘हामीले स्वतन्त्र तिब्बत लेखेको टीसर्ट, ज्याकेट र झोला बोकेका तिब्बतीहरुलाई पक्राउ गरी अनुसन्धानपछि रिहा गरेका हौं’, सिंहले पक्राउ परेको खबरको पुष्टी गर्दै भने, ‘झुक्किएर पूराना टीसर्ट र झोला बोकेका रहेछन्।’

असोज १७ गते गोकर्णबाट पक्राउ परेर छुटेका नेपाली नागरिक फुरी शेर्पा

असोज १७ गते ३६ वर्षीय फुरी शेर्पा गोकर्णमा ‘स्वतन्त्र तिब्बत’ को लोगो भएको कालो ज्याकेट लगाएको अवस्थामा पक्राउ परेका थिए। दुई घण्टाको अनुसन्धानपछि सोही दिन उनी रिहा भए। प्रहरीले उनको कोठासमेत खानतलासी गरेपछि मात्र निर्दोष भएको ठहर गरेको हो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार