तपाईंहरूको पार्टीको सार्वजनिक उपस्थित कम हुँदै गएको देखिन्छ । पार्टीभन्दा मोर्चा हाबी हुँदै गएको हो ? 
बाहिरबाट हेर्दा मोर्चा हाबी भएजस्तो देखिन्छ । जनवर्गीय मोर्चाको पनि त्यसैले नेतृत्व गरेको हुन्छ । आवरणमा मोर्चा देखिन्छ । पार्टी विस्तारै भूमिगत हँुदै जाने भएकाले बाहिर कम देखिँदै जान्छ । पार्टीले त नेतृत्व गर्ने भएकाले पार्टीलाई क्रस गरेर जाने भन्ने हुँदैन ।

तपाईंहरूको पार्टी आफूले चुनाव जित्ने अवस्थामा उपयोगमा जाने,तर हार्ने स्थिति देखिए बहिष्कार गर्ने नीति लिएको हो ? 
प्रतिक्रियावादी राज्यसत्ताले गराउने चुनावलाई क्रान्तिकारी पार्टीले कार्यनीतिको विषय बनाउछ । जित्ने र हार्ने दोस्रो कुरा हो । पहिलो कुरा चुनावलाई उपयोग गर्न आवश्यक छ कि छैन भन्ने हुन्छ । पार्टीले निर्वाचनलाई उपयोग बहिष्कार जुन गरे पनि माध्यम क्रान्तिकारी मोर्चालाई बनाउनुपर्छ । हामीले यसअघिको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन जित्छौँ भनेर लागेकै थिएन । त्यो वेला हामीले भनेकै थियाैँ कि यो प्रतिक्रियावादी सत्तामा जुन पार्टीले प्रतिनिधित्व गरेका छन्, त्यसलाई भण्डाफोर गर्ने हो । त्यो चुनावलाई उपयोग गरेर भण्डाफोर गर्‍यौँ ।

चुनाव उपयोग गर्दा मञ्चलाई प्रयोग गर्न पाइन्छ । मञ्चमा बोल्ने कुरा हाम्रो हातमा हुन्छ । चुनाव जित्नका लागि उपयोग गरेको होइन । हामीले स्थानीय तहमा त्यस्तै पाँचदेखि सात सिट जित्यौँ, त्यति नै हो । प्रदेश र प्रतिनिधिसभामा जित्दै जितेनौँ । जित्नका लागि चुनावमा गएको भए एलाइन्स गर्ने थियौँ । गरेनौँ । प्रतिक्रियावादी सरकार र संविधानको भण्डाफोर भयो । अहिले अरूले नै भण्डाफोर गर्न थालेपछि हामीले नगरे पनि हुने भयो । यसैले यस पटकको उपनिर्वाचनमा भाग नलिने सोचेका छौँ ।

तपाईंहरू सत्तारुढ नेकपासँग पनि मिल्न सक्नुभएको छैन । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग पनि नजिक हुनु हुन्न, किन ?
सत्तारुढ नेकपा वास्तवमा बढी एमाले नै हो । एमालेमा माओवादी मिसिएपछि नेकपा बनेको छ । एमालेलाई हामीले संशोधनवादी धेरै पहिलेदेखि नै भन्दै आएका छौँ । हामीले जनयुद्ध सुरु गरेको एमाले सत्तामा हुँदाहुँदै हो । अझ त्यसभन्दा बढ्ता विचलनमा गइरहेको छ । दक्षिणपन्थीसँग हामी मिल्ने भन्ने कुरै भएन । डबल नेकपासँग एकता गर्ने कुरा कम्युनिस्ट पार्टीसँगको एकता हुँदै होइन । त्यसबारे हामीले सोच्दै सोच्दैनौँ । विप्लवजीहरू हामीबाटै अलग हुनुभएको हो ।

अलग नहुनुुस् भनेका थियाैँ । मान्नुभएन । उहाँहरू अलग नभएको भए अहिले परिस्थिति बेग्लै हुन्थ्यो । उहाँको सही नीति र कार्यदिशा थियो भने सँगै बसेर काम गर्न सकिन्थ्यो । उहाँहरूको कार्यदिशा अस्पष्ट छ । एकीकृत जनक्रान्ति भन्नुहुन्छ, त्यो के भनेको हो ? उहाँका केही साथीले सहादत प्राप्त गरिसक्नुभयो, तर उहाँहरूले सशस्त्र संघर्ष सुरु गरेकै होइन भन्नुहुन्छ । पुलिस र सेनासँग लड्ने नै होइन भन्नुहुन्छ । कर्मचारीतन्त्रसँग लड्ने होइन भन्नुहुन्छ ।

खालि भ्रष्टाचारीलाई कारबाही गर्ने भन्नुहुन्छ । भ्रष्टाचारीलाई कारबाही गर्न कम्युनिस्ट पार्टी नै चाहिँदैन । संशोधनवादी, सुधारवादीहरूले पनि कारबाही गर्छन् । कारबाही गर्न अख्तियार छ, प्रहरी प्रशासनलगायत थुप्रै संस्था छन् । भ्रष्टाचारीकै लागि हतियार उठाउनुपर्ने जरुरी छैन । त्यसकारण उहाँ आफैँ अस्पष्ट हुनुहुन्छ । मित्रशक्ति र दुस्मन शक्तिको कुनै विश्लेषणै छैन । यो ढंगले देशमा क्रान्ति हुन सम्भव छैन । कार्यदिशा नै स्पष्ट नभएपछि केका लागि पार्टी एकता गर्ने ? उहाँहरूमा स्पष्टता छैन । विप्लवहरूको काम अँध्यारोमा ढुंगा हानेजस्तै छ ।

संसद्बाहिरका शक्तिसँग कार्यगत एकता गर्न खोज्नुभएको थियो । अहिले त सबै लाखापाखा लागे त ? 
विप्लवजी, माले, मसाल, कट्टेलजी, हामी (क्रान्तिकारी माओवादी) मिल्दा कार्यगत एकता राम्रो र ठूलै भयो । विप्लवजीको पार्टीमा प्रतिबन्ध लागिसकेपछि खुला कार्यक्रममा आउन सक्दिन भन्नुभयो । नीतिगत भिन्नता केही थिएन, उहाँ अलग हुनुभयो ।

मसालको सरकारलाई हेर्ने दृष्टिकोण प्रस्ट भएन । उहाँहरू यसलाई मूलतः वामपन्थीहरूको सरकार भन्नुहुन्छ । वामपन्थीको सरकारलाई वामपन्थीले सहयोग पो गर्नुपर्छ भन्ने देखियो । उहाँहरूको यहाँनिर अस्पष्टता छ । संविधान ठिकै हो, तर संघीयता हुनुहुँदैन भन्नुहुन्छ । मालेका साथीहरूले विप्लवजीको पार्टीमा प्रतिबन्ध लागेपछि हामीलाई पनि आरोप लगाउँछन् भनेर बस्न मान्नुभएन । हामीले अहिले पनि अरू घटकसँग कोसिस गरिरहेका छौँ ।

नयाँपत्रिकासँगको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार