
इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खस्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उपचारर्थ लैजाने क्रममा सिपाघाटमा ३, धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको हो।
बसमा सवार ७० यात्रुमा सख्त घाइते ४० जनाभन्दा बढीलाई हेलिकप्टरबाट उद्धार गरिएको इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले जानकारी दिए। घटनास्थलमा इन्द्रावतीका जनप्रतिनिधि, मन्त्री, प्रहरीको विशेष उद्धार समूह पुगेका छन्। ‘एउटा सशस्त्र र एभरेस्ट ऐयरबाट उद्धार कार्य भइरहेको छ, जनप्रतिनिधि, सुरक्षाकर्मीसँग समन्वय गरेर घाइतेलाई धुलिखेल लगायत अस्पतालमा उपचारर्थ लगिरहेका छौं,’उनले भने।
प्रहरीकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य छन्।त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ ।
उद्धारमा खटिएका सुरक्षाकर्मीले २ शव बस मुनी च्यापिएकोले निकाल्ने प्रयास जारी राखेको बताए। बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर तल खसेको थियो।







