
चिनियाँ राष्ट्रपति सी चिनफिङबाटै निम्तो पाएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चीन भ्रमणमा जाने भएका छन्।
शनिबार बेलुकी होटल सोल्टीमा भएको भेटवार्तामा सीले नेपालका प्रतिपक्षी दलका नेता देउवालाई चीन भ्रमणमा आउन निम्तो दिएका थिए।
देउवा र सीबीच चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको सम्बन्ध अगाडि बढाउनेबारे छलफल हुँदा सीले देउवालाई चीन भ्रमणको निम्तो दिएको उनका सहयोगी भानु देउवाले बताए।
यसअघि देउवालाई पटक पटक चीन भ्रमणको निम्तो आएपनि काँग्रेसको सभापति भएदेखि उनी चीन गएका छैनन्।
‘चिनियाँ राष्ट्रपति सीले नै भ्रमणको निम्तो दिनु हाम्रो पार्टीका लागि ठूलो अवसर हो’, देउवानिकट काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने।
देउवाका स्वकीय सचिव भानुले अनुकुल समयमा सभापति देउवा चीन भ्रमणमा जाने खुलाए। उनले भने, ‘दुबैतिरको अनुकुलता हेरेर भ्रमण मिति तय हुन्छ।’
चीनले अघि सारेको बेल्ट एण्ड रोड निसिएटिभ (बीआरआर्इ) मा सुरुदेखि नै समर्थन गरेको जनाउँदै देउवाले काँग्रेस सरकारमा रहेकै बेला बीआरआर्इमा नेपाल प्रवेश गरेको सीलाई स्मरण गराएको चीनको विदेश मन्त्रालयले जनाएको छ।
चीन नेपालको सधैं विकास साझेदार र असल मित्र रहेको उल्लेख गर्दै देउवाले नेपालमा चीनको लगानी बढाउन सीलाई आग्रह गरेका थिए।
‘नेपालमा संचालित परियोजनामा चिनियाँ लगानीको अपेक्षा गरेका छौं’, देउवाको भनाइ उद्धृत गर्दै भानुले भने।
भेटवार्तामा देउवाले नेपाल संधै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको चीनको विदेश मन्त्रालयले उल्लेख गरेको छ।







