जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । सीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न महत्त्वपूर्ण समझदारी भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीच विभिन्न २० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चीनले अब नेपालको पूर्वाधार विकासमा लगानी गर्ने छ । दुई देशको संयुक्त वक्तव्यमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अब नयाँ उचाइमा पुगेको तथा दुवै मुलुकले एकअर्काको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय एकताको सम्मान गर्ने कुरा उल्लेख छ ।

नेपालले ‘एक चीन नीति’मा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । तिब्बतको सन्दर्भमा नेपालले स्पष्ट रुपमा भनिदिएको छ कि यो चीनको आन्तरिक मामिला हो । यस्तै, ताइवान चीनको अविभाज्य अंग रहेको कुरा चिनियाँ नेतृत्वसामु नेपालले बोलेको छ ।

नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन सक्ने आशंका चीनले गर्दै आएको छ । यसपटक नेपालले राष्ट्रपति चिनफिङलाई आश्वस्त तुल्याएको छ– नेपालमा चीनविरोधी गतिविधि हुन दिइने छैन ।

नेपालले चीनको महत्वाकांक्षी परियोजना वान बेल्ट वान रोडको समर्थन गरेको छ । दुई वर्षअघि नै नेपाल यो परियोजनामा सामेल भएको थियाे । यद्यपि, यसमा कुनै खास काम भने सुरु भएको छैन । अब भने नेपालबाट कुनै खास काम सुरु हुने विश्वास चिनियाँ नेतृत्वले गरेको छ ।

चीन र नेपालबीच सन् २०१७ मा बेल्ट एन्ड रोड परियोजनामा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने सम्झौता भएको थियो । यस क्रममा चीनले नेपालमा क्रस–बोर्डर इकोनोमिक जोन बनाउने, रेलवे विस्तार गर्ने, हाइवे, एयरपोर्ट आदिको निर्माण कार्यमा सहयोग गर्न सहमति जनाएको थियो ।

नेपालको दक्षिणी छिमेकी मुलुक भारत बीआरआईको विपक्षमा छ ।

नेपाल र चीन रणनीतिक साझेदार हुने कुरा दुई देशको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । यो कुरामा भारत सशंकित देखिएको छ । भारतीय नेतृत्व बीआरआई र रणनीतिक साझेदारीको विषयलाई लिएर चिन्तित छ ।

नेपाल र चीनबीच प्रत्यर्पण सन्धि (एक्सट्राडिसन ट्रिटी) मा कुराकानी भइरहेको छ । यद्यपि, यो सन्धिबारे विवाद छ ।

भारत पनि नेपालसँग विगतमा भएको प्रत्यर्पण सन्धि संशोधन गर्न चाहन्छ । तर, अहिलेसम्म हुन सकेको छैन । भारत र नेपालबीच २ अक्टोबर १९५३ मा यस खालको सन्धि भएको थियो । सन् २००८ र २०१० मा सन्धि संशोधनको प्रयास भए पनि सार्थक भएन ।

दक्षिण एसियामा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको बुझाइ भारतीय पक्षको छ । श्रीलंका, पाकिस्तान, बंगलादेशमा लगानी बढाउँदै बीआरआईमा ती देशलाई सामेल गरेको छ । नेपालमा पनि चीनले आफ्नो प्रभाव जमाउन चाहेको कुरा भारतीय सञ्चारमाध्यमले लेख्दै आएका छन् ।

पछिल्लो प्रयास यसैको उपज भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । भारतका अधिकांश मिडियाले लेखेका छन्, ‘हिन्दु बहुल मुलुक नेपालमा चीनको चासो बढ्नु निकै अर्थपूर्ण छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार