
नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिन पिनले दिएको एउटा भनाईले सिंगो विश्वको ध्यान तानिरहेको छ ।
उनले नेपाल आएका बेला दिएको बयानले विश्वमा नयाँ तरङ्ग ल्याएको छ । उनले चीन विभाजन गर्न खोज्ने प्रयासलाई कडा दमन गरिने चेतावनी दिएका थिए । बीबीसी हिन्दीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै बेला आइतवार सीले यस्तो प्रतिक्रिया दिएका थिए ।
सी आइतबार नेपालबाट स्वदेश फिर्ता भइसकेका छन् । । चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी सीले दिएको समाचारमा उल्लेख गरिएको छ । उनको यो बयानको निशानामा हङकङमा लगातार सरकार विरोधी गतिविधि गरिरहेका र स्वतन्त्र तिब्बत माग्दै हिड्ने र उनीहरुलाई समर्थन गर्ने देशहरुका लागि भएको अनुमान गरिएको छ ।
नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्कनु अघि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा सीले चीनलाई विभाजन गर्नका लागि सहयोग पुर्याउने वाह्य शक्तिलाई चिनियाँ जनताले समाप्त पार्ने चेतावनी दिएका थिए ।
राष्ट्रपति सीको भनाइलाई समर्थन जनाउँदै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिप्रति कटिवद्ध रहेको भनिएको छ । ओलीले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि शक्तिलाई विभाजनकारी गतिविधि गर्न नदिने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। यो भारत, अमेरिका र बेलायत लगायतका देशहरुका लागि चेतावनी भएको बुझिएको छ ।







