
नेपालले राष्ट्रपति सीको सत्कार र बिदाइ राम्ररी नै गर्यो । सत्कार पाउने चिनियाँ अतिथि पक्ष पनि यसबाट खुशी नै भएको देखियो ।
सरकारले खोज्यो भने दुई साताको बीचमा पनि के कस्तो काम कति गतिवान् ढंगले हुन सक्दो रहेछ भनेर राष्ट्रपति सीको सत्कारको तयारीको दौरानमा प्रष्टै देखियो । नेपाल बदल्ने हो भने यो दुई सातामा जे जति कामको गति देखियो, त्यो खालि दुई सातामा मात्र सीमित नभएर वर्षभरिको गति हुनुपर्छ । सरकारका मानिसहरू यो दुई सातामा जति खटे, त्यति वर्षभरि खट्न सक्नुपर्छ ।
यस पटक नेपालले राखेका सबैजसो प्रस्ताव चीनले स्वीकार गर्यो । परन्तु, नेपाल सरकारले दुईपक्षीय वार्ताको दौरानमा राख्ने विषयवस्तुको तयारी भने राम्ररी गरेको देखिएन । यसका लागि समय छँदै राम्रो र गम्भीर गृहकार्य पनि गरेको देखिएन । चिनियाँ पक्ष यस पटक धेरै वर्षपछि सर्वोच्च स्तरमा भ्रमण हुन लागेको र राष्ट्रपति सीको तहमा भ्रमण भएको हुनाले नेपालले राम्रो गृहकार्यसहित प्रस्ताव पेश गरेको भए नेपालले पेश गरेको हरेक जायज प्रस्ताव र धेरै मूल्य पर्ने प्रस्तावसमेत स्वीकार्ने मनस्थितिमा देखिएको थियो । ठूलै योजनाका निम्ति ठूलै रकम नसोचिएको ढंगले प्रदान गर्ने मनस्थितिमा पनि देखिन्थ्यो । परन्तु, नेपाल सरकारले यो मनस्थिति बुझेन । स्वागतको पक्षबाहेक एक महीना अघिसम्म नेपाल सरकारले सीको भ्रमण सम्बन्धमा खास कुनै गृहकार्य नै गरेन ।
विश्वस्त पदाधिकारीले यस लेखकलाई हालै मात्र बेइजिङ भ्रमणको क्रममा बताएअनुसार उसले एक महीनाअघिसम्म मदन भण्डारी विश्वविद्यालयको प्रस्तावबाहेक अर्को कुुनै प्रस्ताव चीन सरकारसमक्ष पेश गरेको थिएन । तर, चिनियाँहरूको स्थापित पद्घति के छ भने उनीहरू हतारमा र होचपोचमा कुनै प्रस्ताव पनि स्वीकार/अस्वीकार गर्दैनन् । जे कुरा सरकार वा राष्ट्राध्यक्ष तहमा स्वीकार गर्ने हो, त्यसको प्रस्ताव विस्तृत गृहकार्यसहित धेरै पहिले नै पेश गरिएको हुनुपर्छ । त्यसमा धेरै छलफल विभिन्न तहमा पहिले नै चलेको हुनुपर्छ । तर, यस पटक त्यस्तो हुन सकेन । त्यसमा नेपाल सरकार चुक्यो । त्यसैले राष्ट्रपति सीले स्वीकार्न सक्ने प्रस्तावभन्दा धेरै थोरै र झिनामसिना प्रस्तावमा मात्र यस पटक सहमति बन्न सक्यो । उनले प्रदान गर्नसक्ने सहयोगभन्दा धेरै कम सहयोगको मात्र घोषणा हुन सक्यो ।
नेपालको चीनसँगको व्यापारमा नेपाल ठूलो घाटामा छ । वर्ष २०७५/७६ मा मात्र यो घाटा २०३.४ अर्ब पुगेको छ । हामी २.१ अर्बबराबरको सामान निर्यात गर्छौं तर चीनबाट २०५.५१ अर्बको सामान नेपालमा आउँछ । यो विशाल व्यापार घाटा घटाउन नेपालमा चीनमा निर्यात गर्न मिल्ने थुप्रै कुराको उत्पादन हुन सक्नुपर्छ । चीनबाट नेपाल आउने थुपै कुराको आयात रोकेर त्यसको उत्पादन नेपालमै हुन सक्नुपर्छ । चीनसँग मिलेर चीनमा निर्यात गर्न मिल्ने थुप्रै त्यस्ता कुराको उत्पादन हुन सम्भव पनि छ । जस्तो हामी यार्सागुम्बा चीनमा निर्यात गर्छौं । उसले त्यसबाट त्यहाँ ओखती उत्पादन गर्छ । हामीले चिनियाँसँग मिलेर यार्सागुम्बाको ओखती उत्पादन गर्यौं भने त त्यो त चीनमै निर्यात गर्न सकिन्छ । त्यस्तै रक्त चन्दनको फर्निचर पनि । चीनको ल्हासाका लागि हामी तरकारी र मासु नै ठूलो मात्रामा उत्पादन र निर्यात गर्न सक्छौं ।
नेपाल कहाँ चुक्यो भने नेपालको व्यापार घाटा घटाउन चिनियाँहरूसित मिलेर चीनमै सामान निर्यात गर्नका लागि नेपालमा संयुक्त उद्योग खोल्ने कुरामा त यसपटक राष्ट्रपति सीसँग छलफल नै हुन सकेन । हाम्रो ध्यान खालि सडक र कनेक्टिभिटीमा मात्र गयो । ती निकै जरुरी एजेण्डा त हुन् तर नेपालको व्यापार घाटा घटाउने एजेण्डा पनि कम महत्त्वपूर्ण होइन ।
चीनलाई हामी खालि दाताको रूपमा मात्र हेर्छौं । कैयन् कुरामा नेपाल पनि चीनका लागि दाता हुन सक्छ भन्ने कोणबाट हामी विचार नै गर्दैनौं । त्यसैले वार्ताको टेबुलमा हामी मगन्ते मात्र भएर प्रस्तुत हुन्छौं । उदाहरणका लागि, चीनलाई यतिखेर सुरक्षा चाहिएको छ । खास गरी चीनको तिब्बतसित जोडिएको उत्तरी क्षेत्रको सीमाका लागि । त्यो बहुमूल्य सुरक्षा त नेपालले मात्र चीनलाई दिन सक्छ । त्यसो भए हामी तिम्रो सुरक्षाको दाता हौं भन्ने कोणबाट चीनसित किन कुरा गर्दैनौं ? हामी तिमीलाई सुरक्षाको ग्यारेण्टी गर्छौं, त्यसको सट्टामा तिमी के दिन्छौं भनेर किन कुरा गर्दैनौं ?
त्यस्तै, चीनलाई भारतसम्म पुग्न, भारतको उत्तर प्रदेश र बिहार जस्तो विशाल बजारसम्म पुग्न र सिंगो दक्षिण एसियासम्म पुग्न सडक मार्ग चाहिएको छ । त्यो बीचको पारवहन सडक मार्ग केबल नेपालले मात्र चीनलाई दिन सक्छ । त्यसो भए हामी सडक मार्गको दाता भएर किन कुरा गर्दैनौं चीनसँग ? त्यस्तै, चीनलाई पानी चाहिएको होला, तिब्बत क्षेत्रका लागि बिजुली र अन्य कृषि वस्तु पनि चाहिएको होला । त्यसको खोज हुनुपर्यो । मुख्य कुरो जे जे कुरामा नेपाल दाता हुन सक्छ, त्यसमा हामी चीनको दाता भएर कुरा गर्ने तहमा उक्लनुपर्यो ।
त्यसमा हामी चुकिरहेका छौं । दाताको रूपमा हामी वार्ता नै गरिरहेका छैनौं । हामी प्राप्तकर्ता मात्र भएर हामी चीन वा भारतसित सम्पूर्ण संवाद चलिरहेको छ । त्यसमा हामी भूल गरिरहेका छौं । मगन्ते मात्र भएर, प्राप्तकर्ता मात्र कुरा गर्दा र दातासमेत भएर कुरा गर्दा हाम्रो संवादमा धेरै भिन्नता आउन सक्छ ।
विश्लेषक श्याम श्रेष्ठसँग शिलापत्रले गरेको कुराकानीको सानो अंश ।







