
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा संगठन विभागका प्रमुख वामदेव गौतमले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार सञ्चालनबारे आलोपालोमा सहमति भएको खुलासा गरेका छन् ।
बुधबार नेकपाले बडादशैं, दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्राईम टाईम्स टेलिभिजनबाट आज राति ८ः०० बजे प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो खुलासा गरेका हुन् ।
उनकाअनुसार अध्यक्षद्धय ओली र प्रचण्डबीच सरकार सञ्चालनमा आलोपालोको सहमति भएको र ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । उनले भने,‘अध्यक्षद्धयबीच आलोपालो सहमतिमा सरकार सञ्चालन गर्ने भद्र सहमति भएको छ । ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ ।’ आलोपालोको सहमति भएको वा नभएको भन्नेबारे पार्टीभित्रै मत विभाजित रहेको बेला पछिल्लो समय ओलीसँग निकट सम्बन्ध बनाएका नेता गौतमबाट यस्तो खुलासा हुनुले नेकपामा नयाँ तरंग पैदा गरेको छ ।
गौतमले वर्तमान सरकारले राम्रो काम गर्न थालेको र जनतामा यसको परीणाम देखिन थालेको विश्वास दिलाए । त्यस्तै, उनले आफू पार्टीको संगठन विभागको प्रमुख भएकोले देशभरि पार्टीलाई सशक्त बनाउने पनि बताउ । उनले भने,‘म संगठन विभाग प्रमुख हुँ । म देशभरि जान्छु । सक्रियता बढाउँछु ।’







