
आत्महत्या दुरुत्साहन अभियोगको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्धको मुद्दामा आज उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासले जिल्ला अदालत चितवनको आदेश सदर गरेको छ ।
तर चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने जिल्ला अदालतको आदेशलाई भने बदर गरेको छ । योबाहेक सबै आदेश सदर भएको उच्च अदालत पाटन हेटौंडाले जनाएको छ ।
बिहीबार भएको इजलासमा सरकारी वकिलले रविलाई थुनामा राख्न माग गरेका थिए भने रवि पक्षका कानून व्यवसायीले विदेश जान लगाइएको रोक बदर गर्नुपर्ने र साधारण तारेखमा रिहा गर्न आदेश दिनुपर्ने माग इजलाससमक्ष गरेका थिए ।
जिल्ला अदालत चितवनको आदेशविरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजलासमा आज सुनुवाइ भएको हो । उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासमा सुनुवाइ भएको थियो ।
चितवन जिल्ला अदालतले उनलाई अदालतको अनुमतिबिना विदेश जान रोक लगाउँदै ५ लाख धरौटीमा रिहा गरेको थियो ।







