
नेकपाको एकीकरण प्रक्रियाले अझै पूर्णता पाएको छैन, यति लामो समय किन लाग्यो ?
यति लामो समय नलिनु पर्थ्यो । के-के गन्थ्रीले काम गरेको छ ! जेले काम गरे पनि यति लामो समय लिनु हुँदैनथ्यो । हामी यता गएपछि एकीकरणका प्रक्रियालाई तलसम्म टुंग्याएर काममा लाग्नुपर्ने थियो । त्यो प्रक्रिया र एकीकरण नै सम्पूर्ण नटुंगिँदा काममा जान सक्ने कुरा भएन । जुन भावनाका साथ एकतालाई अगाडि लैजानुपर्थ्यो, त्यो भावनामा समय-समयमा हावा खुस्काइदिने, ‘पन्चर’ गराउने काम भएको पनि देखियो ।
पन्चर गराउने काम पार्टीभित्रैबाट भयो कि कताबाट ?
पार्टीभित्रैबाट । एकता कम ‘सिमेन्टेड’ भएको देखिन्छ । तर त्यसको अर्थ यसको भविष्य अप्ठेरोमा छ भन्ने होइन ।
अर्का अध्यक्ष पुष्पकमल दाहाललाई तपाईंले सिंगापुर जानुअघि पार्टी हेर्ने गरी जिम्मेवारी बाँडफाँट गर्नुभएको थियो, दुई अध्यक्षबीच त्यही ढंगले काम भइरहेको छ ?
त्यो…. अब…. (केही समय रोकिँदै) दुई अध्यक्ष भने पनि एउटा ‘सिनियर’ हुन्छ, अर्को ‘जुनियर’ । तर हामीले एकदम बराबरीको हैसियतमा जस्तो व्यवहार गरेका छौं । संयुक्त अध्यक्षतामा बैठक हुने गरेको छ । प्रचण्डजी नहुँदा मैले कहिल्यै बैठक राखेको छैन । म नहुँदा ‘बस्नुपरे बस्नुहोस्, तपार्इं नै बैठक राख्नुहोस्’ भनेर मैले सिंगापुर जाँदा भनेको हुँ । उहाँ काम गरिरहनुभएको छ, पार्टी अध्यक्षकै हैसियतमा । आज (बिहीबार) चितवन जानुभएको छ, पार्टी अध्यक्षकै हिसाबले । हिजो जलपानमा हुनुहुन्थ्यो पार्टी अध्यक्षकै हैसियतले । साथीहरूसँग पार्टी अध्यक्षकै हैसियतले भेटघाट गरिराख्नुभएको छ । चिनियाँ राष्ट्रपतिसँंग टिमकै नेतृत्व गरेर पार्टी अध्यक्षकै हैसियतले भेट नुभएको थियो । उहाँलाई उपाध्यक्ष त कसैले भनेन । अध्यक्षका हिसाबले गतिविधि गर्न उहाँलाई रोक छैन ।
पार्टीतर्फको काम उहाँले हेर्दा हुन्छ भन्ने हो ?
गजबले हेर्दा हुन्छ । तर कस्तो छ भने, न मैले एक्लै चलाएको छु, न उहाँले एक्लै निर्णय गर्ने हो । पार्टी चलाउने भनेको एकल रूपमा चलाउने त होइन । दुइटा अध्यक्ष छौं नि !
कान्तिपुर दैनिकसँगको कुराकानीको सानो अंश ।







