
बिना कारण पाकिस्तानले गोली चलाएको भारतले आरोप लगाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले बिना कुनै उत्तेजना आम जनतामाथि गोली प्रहार गरेको दाबी गरेको हो ।
विज्ञप्तिमा भारत र पाकिस्तानी सीमामा रहेका गुन्दिशात गाउँ र तंगधारमा पाकिस्तानी सेनाको गोली लागेर एक जना व्यक्तिको मृत्यु भएको जनाइएको छ भने तीन जना घाइते भएका छन्। यो ठाउँ भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पर्दछ ।
विज्ञप्तिका अनुसार यस गोलाबारीमा ५५ वर्षीय मोहम्मद सादिक मारिएका छन् भने ७० वर्षीय मोहम्मद मकबूल, ५० वर्षीय मोहम्मद शफी र २२ वर्षीय युसुफ हामिद घाइते भएका छन् । विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादी घुसपैठ गरेका कारण युद्धविराम उल्लंघन भएको छ।
यसको जवाफमा भारतीय सेनाले बदला लिएको र चरमपन्थीहरुविरुद्ध निशाना साँधेको दाबी गरिएको छ । भारतीय सेना प्रमुख जनरल बिपिन रावतले मिडियालाई भनेका छन् कि यस कारवाहीमा पाकिस्तानका कम्तिमा ६ देखि १० सैनिकहरू मारिएका छन् भने तिनीहरूका तीन शिविरहरू ध्वस्त भएका छन् । रावतका अनुसार सीमामा ६ देखि १० जना कट्टरपन्थी पनि मारिएका छन्।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ घफुरले भने भारतलाई ठाडै युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन।
‘भारतले कुनै पनि उत्तेजित बिना जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरी नागरिकहरूलाई निशाना बनाएको छ’, घफुरले ट्वीट गरेका छन् ।







