
स्यान्टियागो : चिलीमा केही दिनदेखि आन्दोलन चर्किँदै गरेको छ । राष्ट्रपति सेबास्टियन पिनेराले स्यान्टियागोमा संकटकाल घोषणा गरेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।
संकटकालका बावजुद नागरिकहरु आन्दोलित छन् । यातायात पूर्ण रुपमा ठप्प बनेको छ भने अधिकांश उडान पनि अवरुद्ध भए । प्रदर्शनकारीले भने सरकारको कडा विरोध गर्नुका साथै आन्दोलन जारी राखेका छन् ।
स्थानीय मिडियाका अनुसार प्रहरी तथा सुरक्षाकर्मीले आन्दोलनकारीलाई लक्षित गर्दै टियर ग्यास तथा पानीका फोहोरा प्रहार गर्दैछ । आन्दोलनकारीहरुले भने आफूहरु ‘शक्तिशाली शत्रुका विरुद्ध युद्धमा होमिएको’ बताएका छन् ।
साथै सरकारलाई लक्षित गर्दै उसले सीमाहिन हिंसा मच्चाउन चाहेको उनीहरुको भनाइ छ । सरकारको अनियमितता र भ्रष्टाचार बढेको तथा कर बढाएको भन्दै नागरिकहरु यहाँ आन्दोलित बनेका हुन् ।
राष्ट्रपतिले नयाँ सैनिक प्रमुख नियुक्त गरेपछि राजधानीमा कफ्र्यू पनि घोषणा गरिएको छ । जाभियर इतुरियागाले दिनभर कफ्र्यू लाग्ने हुँदा सबैलाई त्यस अवधिमा शान्त रहन र घरमै बस्न आदेश दिएका छन् । इतुरियागा गत शुक्रबार मात्रै सैनिक प्रमुखका नियुक्त भएका थिए ।







