
नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाले संसदीय निर्वाचनको रुपमा रहेको उपनिर्वाचनलाई बहिष्कार गर्ने भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।
मंसिरमा हुने उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने भन्दै अध्यक्ष गजुरेलले बहिस्कार आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउँदै क्रान्तिकारी आन्दोलनको स्तरमा उठाउने बताएका छन् । कात्तिक २ र ३ मा सम्पन्न मोर्चाको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।
प्रतिक्रियावादी व्यवस्थाको निर्वाचनमा भाग लिने कि बहिस्कार गर्ने भन्ने विषय कार्यनीतिको विषय भएको भन्दै अध्यक्ष गजुरेलले भने, “पहिले संविधान जारी हुँदा, तीन तहको निर्वाचन हुँदा जनतामा भ्रम थियो । यो व्यवस्था, संविधान साँच्चै राम्रो हो कि ? साँच्चै नेपालमा समृद्धि नै आइहाल्छ कि ? समाजवाद नै पो आइहाल्ने हो कि ? भन्ने । त्यसको असली चरित्रको पर्दाफास गर्न हामीले निर्वाचनको उपयोग गरेका थियौं । अहिले दुई वर्ष नपुग्दै यसको राष्ट्रघाती, जनघाती चरित्र नांगिएको छ । यसको भण्डाफोर त सर्बत्र भइरहेको छ । त्यसकारण सक्रिय बहिस्कार गर्ने निर्णय गरेका हौं ।”
पत्रकार सम्मेलनमा अध्यक्ष गजुरेलले बहिस्कार आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरे । जस अनुसार बहिस्कारको औचित्यता पुष्टि गर्दै देशव्यापी प्रचार अभियान थाल्ने, सबै प्रदेशहरुमा केन्द्रीत रुपमा एउटा विरोध सभा, कास्कीको पोखरामा केन्द्रित विरोध सभा गर्ने, भक्तपुर, बाग्लुङ र दाङमा प्रदेश केन्द्रित विरोध सभा र अन्य ४८ ठाउँमा जिल्ला स्तरीय केन्द्रित विरोध सभाका कार्यक्रम गर्ने रहेको छ ।







