
चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घटना घटाईएकोमा घोर भत्र्सना गरेको हो ।
चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले वीरगंजमा भएको घट्नाको कडा निन्दा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।
उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईको ध्यानाकार्षण गराउन चाहन्छौं ।’
विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिनपनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे । उनले भने,‘विद्यार्थीले शान्तिपूर्ण आन्दोलन गरेर आफ्ना जायज माग राखिरहेको अवस्थामा कलेज प्रशासनले ज्यादती गर्दापनि सरकार मुकदर्शक हुनु दुःखद् हो । हामी माग पूरा नभएसम्म संघर्षलाई निरन्तरता दिन्छौं ।’







