चीन र नेपालको कम्युनिस्ट पार्टीको राजनीतिक परिवेश र धरातल फरक भए तापनि आपसी सिक्ने कुरा धेरै छन् । फरक राजनीतिक धारका राजनीतिज्ञ जवाहरलाल नेहरूका चीनसँगको सुरुका सम्बन्धहरू र बीपीको आत्मवृत्तान्त हेर्ने हो भने उनीहरूले समेत माओका कतिपय नीतिको प्रशंसा गरेको देखिन्छ ।

जबकि माओबाट पनि जीवनको उत्तरार्द्धमा कमजोरी भए भन्ने कुरा स्ययम् चिनियाँ कम्युनिस्ट पार्टीले नै स्वीकारेको छ । राष्ट्रपति सीले नेपाली काग्रेससँग सम्बन्ध बढाउन चाहनु र शेरबहादुर देउवालाई चीन आमन्त्रण गर्नुको अर्थ नेपालको बहुदलीय परिपाटीलाई चीनले सम्मान गरेको मात्र नभई सत्तापक्ष र विपक्ष दुबैसँग राम्रो सम्बन्ध राख्न चाहेको द्योतक हो । नेपालका बजारी हल्लालाई पनि चीनले नजिकबाट नियालेको हुनुपर्छ ।

मनमा आशंका भए पनि कांग्रेसका नेताहरूले सी भ्रमणताका चीन-नेपाल सम्बन्धलाई केन्द्रमा राखी सन्तुलित अभिव्यक्तिहरू दिए । फरक राजनीतिक खेमाहरूमा पनि आपसी सिकाइ हुनसक्छ भने कम्युनिस्ट पार्टीहरूमा यो अझ स्वाभाविक हुन्छ । चिनियाँ राष्ट्रपतिले आफ्नो गिलास तल पारेर हाम्रो राष्ट्रपतिलाई टोस्ट सम्मान प्रकट गर्नु, तर द्विपक्षीय पार्टी बैठकमा कलि कडा विचार प्रकट गर्नुमिडियामा आएका टिप्पणीबाट राष्ट्रपति सी बेखबर थिएनन् भन्ने सहजै बुझ्न सकिन्छ । नेकपाका अध्यक्ष प्रचण्डले यो हामीलाई नै भनेजस्तो लाग्यो भन्ने अभिव्यक्तिले पनि राष्ट्रपति सीले नेकपातर्फ केही संकेत गर्न खोजेको प्रस्ट हुन्छ ।

सीपीसी स्थापना र क्रान्ति सम्पन्न भएको एक सय वर्ष (सन् २०२१ र सन् २०५०) मा चीनले पहिलो चरणमा मध्यम खाले समृद्धि हासिल गरी दोस्रो चरणमा आधुनिक र समृद्ध समाजवादी राज्य निर्माण गर्ने लक्ष्य लिएको छ । यसलाई सीपीसीले चिनफिङ विचारधाराका रूपमा आधुनिक कालखण्डका अन्तरविरोधहरूलाई संश्लेषण गरी ‘चिनियाँ सपना’ र ‘चिनियाँ सभ्यताको पुनरोदय’को रूपमा अघि सारेको छ । यी उद्देश्यहरू हासिल गर्न चीनले पार्टी निर्माण र असल शासनलाई अन्तरवस्तुका रूपमा आत्मसात गरेको देखिन्छ ।

राष्ट्रपति सीले शासन सम्हाल्नासाथ कानुनी राज र असल शासनको प्रत्याभूति गर्न व्यापक आन्तरिक पुनर्संरचना गरे । उनले अघि बढाएको संसारकै ठूलो भ्रष्टाचार विरोधी अभियानमा खराब आचरण भएका करिब १२ लाख पार्टी उच्च पदाधिकारी र कर्मचारीहरू कारबाहीमा परे । यो अभियान निरन्तर छ । तामझाम, भोजभतेर र चर्को उपहार खर्च देखाउने परिपाटीको सुधार राष्ट्रपति कार्यालयबाट सुरु गरियो । सी व्यारिकेट लगाएर सवारी चलाउनेभन्दा भ्यानमा सामान्य यात्रा गर्न रुचाउँथे ।

पहिल्यैदेखि आर्थिक अनियमिततामा दाग नलागोस् भन्नेमा सचेत सी उच्च पदाधिकारी भइसक्दा पनि लाइनमा लागेर खाना खाने र आफ्नो बिल आफै तिर्ने गर्थे । चीनमा भ्रष्टाचार काण्डमा कारबाहीमा परी विदेश पलायन भएकाहरूले पनि राष्ट्रपति सीलाई व्यक्तिगत आक्षेप लगाउनसकेका छैनन् । चीनमा स्थायी कमिटीका नेतादेखि महानगरका प्रमुखहरूले समेत भ्रष्टाचारको आरोपमा मृत्युदण्ड भोगेका छन् । अझ यही राष्ट्रिय महाधिवेशनमा त पार्टीभित्र होनहार सम्भावना भएका नेताहरूले पैसाको प्रलोभनमा भोट प्रभावित गर्न खोजेको आरोप बाहिर आएको थियो । अहिले सीले भ्रष्टाचार विरोधी अभियानलाई एउटा अब्बल कम्युनिष्ट पार्टी र राज्य निर्माणको आधारभूत सैद्धान्तिक प्रश्नसँग जोडेर पुनर्जागरणको अभियान बनाएका छन् ।

राष्ट्रपति सीको प्रमुख चासो चिनियाँ परिस्थितिमा शासन सत्ताको विकसित मोडल तयार गर्नु रहेको देखिन्छ । ‘चीनको शासनसत्ता’ भन्ने पुस्तकमा उनका यी विचार अभिव्यक्त भएका छन् । क्रान्तिबाट आएका र सघर्षमा टिकिरहेका कम्युनिस्ट पार्टीले शासन गरेका देशमा पनि भ्रष्टाचारको समस्या नयाँ ढङ्गले देखापर्ने गरेको छ । त्यसले पार्टी र नेताहरूलाई पहिला धमिराजस्तै खाँदै जान्छ र यो राजकीय सबै क्षेत्रमा व्याप्त बन्छ । असल नेतृत्व रहँदासम्म निर्देशनमा परिपाटी चल्छ । खराब नेतृत्व माथि पुग्दा सत्ता नै गर्ल्याम-गुर्लुम्म ढल्न पुग्दछ । पार्टी र नेतृत्वलाई लालफिताशाहीले जनताबाट अलग-थलग गरिसकेको हुन्छ । यसलाई चिर्न कम्युनिस्ट पार्टी र यसको नेतृत्व नै अब्बल र सफा नभई आधुनिक, समृद्ध, सभ्य, सुन्दर बन्ने चिनियाँ पुनरोदयको सपना असम्भव हुनजान्थ्यो । त्यही भएर उनले उन्नाइसौं कांग्रेसमा जोड दिएर भने, ‘कुनै व्यक्ति कानुनभन्दा माथि हुन सक्दैन ।’

सीले खोजिरहेको असल शासनको मोडल चिनियाँ सभ्यतामा धैरै पहिला सफलतापूर्वक प्रयोग भइसकेको विषय थियो । हान राजतन्त्रले प्रयोगमा ल्याएको ‘सुवान सियान रेनिङ’ पद्धति (२०२-९ ई.पू.) भनेकै मेरिटोक्र्यासीमा आधारित व्यवस्था हो । यसले ‘गुणवत्तालाई छान र सक्षमलाई नियुक्ति गर’ भन्छ । परीक्षा र योग्यता पास भएर मात्र कर्मचारी भर्ना गर्ने ‘के जु’ पद्धति पनि चीनको इतिहासमा हजार वर्ष चल्यो । भनसुन र नातागोताका आधारमा नियुक्ति पाउने ‘गुन्सी’ परिपाटी हटाउन देङ सियाओपिङले आफ्नो बेलामा कडा कदम चालेका थिए । यसले एकहदसम्म सक्षम र योग्य कार्यकर्ता पंक्ति निर्माण गर्न मद्दत गर्‍यो र चीन यसलाई उच्च तहमा विकास गर्न खाज्दैछ ।

विश्व कम्युनिस्ट आन्दोलनमा सर्वहारा अधिनायकत्वको पुनरावलोन हुनुपर्ने कुरा चर्चा चलिरहँदा सीले जनताको अधिनायकत्वको औचित्य रहने तर्क गर्छन् । चिनियाँ सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा सीका ‘रगत पानीभन्दा बाक्लो हुन्छ’ र चीन टुक्र्याउने गतिविधिहरूप्रति ‘शून्य सहनशीलता’को कुराले बल प्रयोग आवश्यक पर्न सक्छ भन्ने चिनियाँ बुझाइ देखिन्छ । पश्चिमा लेखक र मिडियाहरूले बोसिलाई, सुन झोङकाई लगायतका उच्च पदस्थहरूलाई पार्टीभित्र गरिएको कारबाहीको प्रसंग निरन्तर उठाउने गरेका छन् ।

सीको नेतृत्वले के देङ र उनको बुबामाथि सांस्कृतिक क्रान्तिताका जस्तै अन्याय यी प्रकरणमा दोहोर्‍याएको हो ? या उपरोक्त पात्रहरू सीपीसीमा देखिएका वाङमिङ र लिनप्यायो अनि रूसी कम्युनिस्ट पार्टीमा देखिएका गोर्भाचोभ र एल्तसिन जस्तै साँच्चिकै चीनलाई दुर्भाग्यतर्फ डोर्‍याउन खोज्ने तत्त्व थिए भन्ने इतिहासले पुष्टि गर्दै जाला । राष्ट्रपति सीले चिनियाँ प्रजातन्त्र ‘कन्सल्ट्याटिभ डेमोक्र्यासी’ हुने र चीनले पश्चिमा प्रजातन्त्रलाई नक्कल नगर्ने तर व्यक्तिको स्वतन्त्रता, मानव अधिकारको रक्षा तथा कानुनको शासनको प्रत्याभूति गर्ने प्रस्ट बोलेका छन् । यसबाट चीन नयाँ खाले प्रजातन्त्रको अभ्यास गर्दैछ भन्ने देखिन्छ ।

देङ सियाओपिङले चीन विदेश नीति र अन्तर्राष्ट्रिय प्रोफाइलमा तल रहने कुरा गरेका थिए । राष्ट्रपति सीले उठाएका कतिपय कदमहरू पूर्ववर्ती विचारभन्दा फरक हो कि भन्ने देखिन्छ । ताओवादमा एउटा सूत्र छ : सफलता प्राप्त गर्दै जाँदा देशका विरुद्ध आउने सम्भावित संकटपूर्ण परिस्थितिलाई बुद्धिमतापूर्ण र साहसिक ढङ्गले नेतृत्व गर्ने । सीको साहसिक र क्रान्तिकारी कदमहरूमा ताओवादको मान्यता झल्किन्छ ।

चीनलाई मुक्त पार्ने सन्दर्भमा माओका कदमहरूमा पनि यी मान्यताहरू देखिन्छन् । तर ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादलाई ठीक ढङ्गले आँकलन नगर्दा उनी सांस्कृतिक क्रान्ति र महान छलाङमा चुके । यसको असफलता अनिवार्य थियो । तर सीले जुन छलाङको नेतृत्व गर्दैछन्, त्यो चीनको आवश्यकता र विश्व परिस्थिति सान्दर्भिक छ । चिनियाँ कम्युनिस्ट पार्टी, यसको विचार, कुशल नेतृत्व, जनताको मिहेनत र एकमना एकताका कारण चीनले यो जादुगरी सफलता हात पारिरहेको छ ।

नेतृत्व निर्माणको प्रश्नमा पनि चिनियाँहरूले सोभियत संघको कमजोरीबाट सिकेका छन् । सोभियत संघमा स्टालिन, खुस्च्रेभ, ब्रेझनेभदेखि गोर्भाचोभसम्म अघिल्लो नेतृत्वलाई खराब भन्दै गयो । लेनिनलाई भने सबैले पुजे । तर चीनमा माओको योगदानलाई उच्च कदर गरी कमजोरीहरूसमेत स्वीकारियो र पछिल्लो हरेक नेतृत्वले अघिल्लो विरासतलाई स्वीकार गर्‍यो । चीनले सीको नेतृत्वलाई माओ र देङजस्तै विशिस्ट रूपमा स्थापित गरिरहँदा जियाङ जमिन रहुजिन्ताओ योगदान र कडीलाई सम्मानपूर्वक निरन्तरता दिएको छ ।

आम बुद्धिजीवीहरू संसारलाई नै प्रभाव पार्ने भीमकाय भूअर्थराजनीतिक रणनीतिक महत्त्वको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’लाई चीनको सबैभन्दा महत्त्वको परियोजना ठान्छन् । तर सीपीसीको १९ औं पार्टी कांग्रेसमा सीले पार्टी निर्माण चीनको महत्त्वपूर्ण परियोजना भएको र आफू मार्क्सवादी सिद्धान्तबाट पछाडि नजाने कुरा गरे । उनले सन् २०४९ सम्म चीनलाई एउटा आधुनिक समाजवादी राज्य निर्माण गर्ने घोषणा गरे र त्यो निर्माण प्रक्रिया शान्तिपूर्ण हुन्छ भने ।

उनले चीन अझ बढी खुल्ला हुने र सबैसँग सहकार्य गर्ने घोषणा गरे । जमिनमा लामो लिज स्वामित्व, लगानी र सम्पत्ति अधिकारको रक्षा हुने कुरा गरे । यो कम्युनिस्ट सिद्धान्तसँग विरोधाभाषजस्तो पनि लाग्छ, तर उनले चिनियाँ र विश्व परिस्थितिको द्वन्द्वात्मक आँकलन गरेका छन् । सोभियत संघ पतन भएपश्चात् ‘द इन्ड अफ हिस्ट्री’ लेख्ने फुकुयामा लगायतका विद्वानहरूले चिनियाँ ‘बेल्ट एन्ड रोड’ले पश्चिमा प्रजातन्त्रको सान्दर्भिकता सकिने लेखिरहँदा सीले कम्युष्टि सिद्धान्तमा आधारित पार्टी निर्माणमार्फत असल शासन, पर्या-सभ्यता, बीआरआई, चिनियाँ सपना र पुनरोदयको कुरा गर्नु निकै अर्थपूर्ण छ ।

पार्टी खोक्रो बन्दा मिसाइल र भारी न्युक्लिएर हतियारले सोभियत संघ बचाउन सकेन । चीनको समाजवाद पनि न त मिसाइल र ट्याङ्कले बचाउन सक्छ, नत बेल्ट एन्ड रोडले ।

वास्तवमा एउटा उम्दो र जीवन्त मार्क्सवादी पार्टीका मानिसहरू, यसका असल नीति र कार्यक्रमहरूले दीक्षित जनताले मात्रै समाजवाद बचाउन सक्छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार