
केपी ओली र प्रचण्डबीचको पछिल्लो भेटवार्ताले सत्ताधारी नेकपाका दुई अध्यक्षबीचको दुरी कम भएको बताउने गरिएको छ ।
केही दिनअघि दुई अध्यक्षबीच दूरी बढेको खबर सार्वजनिक भएका थिए। पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा नयाँ समझदारी गर्नुपर्ने प्रस्ताव र कार्यकारी अधिकार दाहाललाई दिन ओलीले अनिच्छा देखाएपछि दुई अध्यक्षबीच विवाद देखा परेको नेताहरुको भनाइ थियो। दुई अध्यक्षबीचको दूरी नबढेको सन्देश दिनेगरी प्रचण्ड ओलीलाई भेट्न सोमबार बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री ओलीको भदौ ५ को सिंगापुर भ्रमणअघि नेता वामदेव गौतमलाई उपाध्यक्ष, झलनाथ खनालको वरिष्ठतासँगै दाहाललाई पार्टी कामको कार्यकारी जिम्मा दिने समझदारी नेताहरूबीच भएको दाहाल पक्षका नेताको भनाइ थियो।
सोही समझदारीअनुसार सचिवालयले खनाल र गौतमका विषयमा निर्णय लिए पनि दाहाललाई ओली नहुँदा एउटा बैठकका लागि मात्र पार्टीको अध्यक्षता गर्न दिएको र त्यसपछि फेरि प्रधानमन्त्रीले अधिकार दिन अनिच्छा देखाएएपछि दाहाल र ओलीबीच दूरी बढेको नेताहरुले बताएका थिए।
सोमबारको भेटलाई नेताहरुले दूरी घटाउने प्रयासको संज्ञा दिएका छन्। स्रोतका अनुसार आजको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलमात्र भएको बताएको छ।
‘अध्यक्षद्वयको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’, स्रोतले भन्यो, ‘पार्टी एकताको बाँकी काम, मंसिर १४ गते हुने उपनिर्वाचनबारे छलफल भएको छ।’







