संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

उनलाई पुर्पक्षका लागि जेल चलान गर्नुभन्दा पहिला जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेले सरकारीतर्फका चार जना सरकारी वकिल र महारा पक्षका ६ जना वरिष्ठ अधिवक्ताको बहस सुनेका थिए । आइतबार सुरू भएको थुनछेक बहस सोमबार सकिएको हो ।

महरातर्फको वकालत गर्नेहरूमा पूर्वन्याधिवक्ता रोमन श्रेष्ठसहित शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।

बहस जिल्ला अदालतको १ नम्बरमा इजलासमा भएको थियो । आइतबार सरकारी वकिलको बहस सकिएपछि महरा पक्षको वरिष्ठ अधिवक्ता, अधिवक्ताहरूको पालो आएको हो । आइतबार दुई जना अधिवक्ताले मात्रै बसह गरेर रोकिएको बहस फेरि सोमबार ११ बजेबाट नै सुरू भएको थियो ।

आफ्ना अधिवक्ताहरूको वकालत सुनिरहेका महरा इजलाश कक्षको तेस्रो लाइनको कुनाको बेञ्चमा बसेका थिए । त्यसको ठीक अगाडिको लाइनको बेन्चमा उनको मुद्दालाई लिड गरेर बहस गर्र्नेे पूर्वन्याधिवक्ता एवं वरिष्ठ अधिवक्ता रोमन श्रेष्ठ बसेका थिए ।

त्यतिबेला उनको पक्षमा वकिल कृष्णप्रसाद सापकोटा बहस गर्दै थिए । रोमनसँगैको बेञ्चमा अर्का अधिवक्ता शेरबहादुर केसी बसेका थिए । इजलासमा बहस चलिरहँदा महरा भने निराश मुद्रामा छेउमै बसेर सुनिरहेका थिए ।

सापकोटापछि केसीले बहस गरेका हुन् । अन्तिम बहस गर्न श्रेष्ठ आएका थिए । श्रेष्ठले लामो समय लिएर महराको पक्षमा बहस गरे । तर, महरालाई छुटाउन भने सकेनन् । अन्ततः उनलाई अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दियो ।

जब महरा पक्षका वकिलहरूको बहस सकियो, अदालतभित्रको सुरक्षा व्यवस्था एकाएक कडाइ हुन थाल्यो । करिब साढे ४ बजे सकिएको बहसको आदेश आउन एक घण्टा समय लागेको थियो ।

त्यसअघि नै अदालतभित्र प्रवेश गरेका पत्रकारलगायत महरा पक्षका सबैलाई प्रहरीले बाहिर निकालिसकेको थियो । अदालतको माहौलले न्यायाधीशको आदेश आउनुअघि नै महरा पुर्पक्षका लागि जेल चलान हुने संकेत गरिसकेको थियो ।

न्यायाधीश सुदर्शनराज पाण्डेले पुर्पक्षका लागि आदेश गरेसँगै प्रहरीले महरालाई स्कर्टिङ गरेर नै अदालतभित्रबाट बाहिर निकालेका थिए ।

उनी प्रहरीको बा२झ २८९७ नम्बरको गाडीमा जिल्ला अदालतबाट हनुमानस्थान हँुदै डिल्लीबजार कारागार चलान भएका हुन् । महरा संवैधानिक अंगको उच्च तहमा बसेर बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलान हुने विरलैमध्येका एक हुन् । सभामुख पदमा रहँदा उनको सुरक्षार्थ २५ जनाभन्दा सुरक्षाकर्मी स्कर्टिङमा खटिएका थिए ।

उनीमाथि १२ असोजमा रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर बलात्कार प्रयास गरेको अभियोग लागेको थियो । १९ असोजमा पक्राउ परेका महरा यसअघि करिब एक महिना प्रहरी हिरासतमा बसका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार