नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारीको सूचीमा राख्ने अमेरिकी साम्राज्यवादको रिपोर्टलाई खुला रुपमा खारेज गरेका छन् ।

नेपालको क्रान्तिकारी अग्रदस्ता नेकपालाई अमेरिकी साम्राज्यवादले लगाएको तुच्छ लाञ्छना सहेर बस्ने केपी ओली सरकार साम्राज्यवादको टट्टु भएको महासचिव विप्लवको गंभीर आरोप छ ।

पार्टी महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै साम्राज्यवादी आरोप र लाञ्छनानको प्रतिरोध गर्न क्रान्तिकारी जनतामा अपिल समेत गरेका छन् ।

महासचिव विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाको ‘प्रतिआतङ्कवाद ब्युरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतङ्कवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा उल्लेख गरेको हाम्रो देश र पार्टीबारेको धारणा र विवरणप्रति पार्टीको ध्यान गम्भीर ढङ्गले केन्द्रित भएको छ । सर्वप्रथमतः अमेरिकी साम्राज्यवादले हाम्रो देश, नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको स्पष्ट गर्दछ ।’

कुनैबेला ब्रिटिश उपनिवेशवाद विरुद्ध लडेको इतिहास बिर्सदैं अमेरिकाले आफ्नो पार्टीलाई आतंकवाद घेरामा राख्नु ठूलो अनैतिक षडयन्त्र भएको विप्लवको भनाई छ ।

महासचिवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अमेरिका आफैँ उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश हो । आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बीसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैतालामुनि दबाउने घोर फासिस्ट एवम् साम्राज्यवादी नीति लिएको छ । बेलायती युगको अन्त्य भएपछि अमेरिकी युग चलेको आतङ्क मच्चाइरहेको छ । ऊ नै विश्वशान्ति, प्रगति, मानवता र समृद्धिको मुख्य अवरोधक एवम् बाधक बनिरहेको छ । विश्वभरि चलिरहेका अशान्ति, युद्ध, विध्वंस, आतङ्क, नरसंहारको संरक्षक, सञ्चालक र स्रोत पनि अमेरिका नै बनेको छ । उल्टो उसले वास्तविक शान्ति, मानवता, स्वतन्त्रता, स्वाधीनता एवम् परिवर्तनका वाहक शक्ति श्रमिक जनता, कम्युनिस्ट पार्टी र जनक्रान्तिलाई आतङ्कवादीको असैह्य आरोप थोपर्ने गरेको छ । हालै हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टीमाथि लक्षित गरेको पूर्णतः अस्वीकार्य एवम् अर्थहीन आरोप पनि यसैको एक भाग हो । लुट र अतिक्रमणको नेतृत्व गर्ने अमेरिकालाई यस्तो आरोप थोपर्ने न अधिकार छ, न त नैतिकता नै । वैज्ञानिक समाजवादी—साम्यवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी र श्रमिक वर्गका लागि यो औचित्यहीन छ ।’

महासचिव विप्लवले अगाडि भनेका छन्, ‘अमेरिकाले रिपोर्टमा हाम्रो पार्टीले कहिल्यै नगरेको वीरगन्जको भारतीय कन्सुलेट कार्यालयको पर्खालमा बम हानेर भत्काइदिएको, पोखराको एयरपोर्टमा बम हानेको, गाउँका सडकका पुलमा बम हानेर क्षति गरेको भनेर जुन रिपोर्ट उल्लेख गरेको छ साथै हाम्रो देशलाई अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर चर्चा गरको छ, यो सय प्रतिशत झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको छ । यसले शक्तिशाली भनेर प्रचार गरिने अमेरिकी रिपोर्टको कमजोर क्षमता मात्र उजागर गर्दैन, उसको पूर्वाग्रही, दुराशययुक्त र उत्तरसाम्राज्यवादी चरित्रको पनि पुष्टि गर्दछ । यसर्थमा अमेरिकाको रिपोर्ट गम्भीर राजनीतिक अपराध हो । हामी यसप्रति घोर आक्रोश र घृणा व्यक्त गर्न चाहन्छौँ । अमेरिकाले यस्तो आपराधिक कार्य नगरोस् भन्ने चेतावनी पनि दिन चाहन्छौँ । अतः यो रिपोर्टलाई हाम्रो पार्टी पूर्णतः खारेज गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसैगरी अमेरिकी साम्राज्यवादले हाम्रो देशको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप र अन्तर्राष्ट्रिय बदनामी गर्दासमेत मुखमा ताल्चा लगाएर बस्ने केपी वली सरकार अमेरिकी साम्राज्यवादको टट्टु हो भन्ने प्रस्ट पार्न चाहन्छौँ । यस्तो नक्कली, झूटो र अतिक्रमणकारी रिपोर्टमा विश्वास नगर्न विश्व समुदायलाई आग्रह गर्दै आमश्रमिक जनता, उत्पीडित राष्ट्र र क्रान्तिकारी शक्तिहरूलाई प्रतिवाद गर्न विशेष अपिल गर्दछौँ ।’

विज्ञप्तिको पूर्णपाठ….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार