
भारतीय हस्तक्षेपको विरोध गर्न प्रदर्शनमा उत्रेका विप्लव नेकपाका भातृ संगठनका अध्यक्ष गुरुङसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मकर गुरुङ, र जनस्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष टिका कँडेल सहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तार हुँनेमा कुमार घिसिङ, करण श्रेष्ठ, महेश तामाङ, विषम लगायत ११ जना रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो १२ बजेतिर काठमाडौँको घण्टाघर नजिकैबाट गिरफ्तार गरिएको हो ।
नेपाली भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा विरोध प्रदर्शन गर्न रत्नपार्कतर्फ जादैगर्दा प्रहरीले गुरुङ र कँडेल लगायत अन्यलाई गिरफ्तार गरेको हो । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत, दरबारमार्गमा राखिएको छ ।
भारतले नेपाली भुमिलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेकपाले यसअघि नै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको थियो । आज देशैभरी विरोध प्रदर्शन गर्ने नेकपाकाे पुर्वनिर्धारित कार्यक्रम थियो ।







