भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो ।

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदुषणको मात्रा यति धेरै पुगेको ती समाचारहरुमा बताइएको छ ।

बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।
उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ ।

त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ ।
अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरुमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ ।

वायु प्रदुषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार