भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले नेपालसहित दक्षिण एसियाली मुलुकमा चीनको प्रभावलाई रोक्ने भारतको योजना नभएको बताएका छन्।

जर्मन म्यागेजिन देर स्पिगल् लाई अन्तर्वार्ता दिँदै जयशंकरले ‍केही वर्षभित्रै नेपालमा भारतबाट पाँच वटा रेलमार्ग जोडिने पनि बताएका छन्। चीन-नेपाल हिमालयपार रेलमार्गबाट चिन्तित हुनुहुन्न भन्ने प्रश्नमा उनले सीधा जवाफ नदिई नेपाल-भारत सम्बन्धका विशेषता उल्लेख गरेका छन्।

दक्षिण एसियामा क्षेत्रीय चेतनाको अभाव रहेको भन्दै जयशंकरले त्यसमा भारतको सबैभन्दा ठूलो दोष रहेको पनि स्वीकारेका छन्।अन्तर्वार्तामा जयशंकरले जम्मु कस्मिर टुक्र्याउने र स्थानीय नेतालाई बन्दी बनाउने मोदी सरकारको कदमको बचाउ गरेका छन्।

अन्तर्वार्ताको अंशः

देर स्पिगल् : चिनियाँ कम्पनीहरु पाकिस्तान, नेपाल र श्रीलंकामा विशाल पूर्वाधार परियोजना सञ्चालन गर्ने योजना बनाइरहेका छन्। सो क्षेत्रमा चीनको प्रभावलाई रोक्न भारत के गरिरहेको छ?

जयशंकरः हामी जे गरिरहेका छौँ, चीनको प्रभावलाई रोक्न गरिरहेका छैनौँ। एकछिनलाई त्यहाँबाट चीनलाई हटाइदिऊँ, र पनि हामी नेपाल, बंगलादेश वा श्रीलंकामा आज जसरी लगानी गरिरहेका छौँ, त्यसरी नै गरिरहने छौँ। दक्षिण एसियामा क्षेत्रीय चेतनाको अभाव छ। र, यसका लागि म भारतलाई दोष दिन्छु। किनभने सबैभन्दा ठूलो मुलुकका हैसियतले भारतले काँधमा सबैभन्दा ठूलो जिम्मेवारी छ। गत पाँच वर्षमा त्यो गल्ती सुधार्न हामीले सकेजति गरेका छौँ। दक्षिण एसिया जति आपसमा जोडियो, हामीलाई पनि त्यति नै राम्रो हुन्छ।

देर स्पिगल् : भारतको सीमानजिकै चीनले नयाँ हिमालयपार रेलमार्ग निर्माणको योजना बनाइरहेको छ। यसबाट तपाईं चिन्तित हुनुहुन्न?

जयशंकरः भारत र नेपालबीच यसअघि नै दुई वटा रेलमार्ग जोडिइसकेको छ। केही वर्षभित्र पाँच वटा रेलमार्ग हुनेछन्। भारततर्फको नेपाली सीमा खुला छ। चीनतर्फ त्यस्तो छैन। थुप्रै नेपाली कामको खोजीमा भारत आइरहेका छन्। यस्ता कुरालाई कसरी तुलना गर्ने?

देर स्पिगल् : धेरै पश्चिमाहरु भारतलाई एसियामा चीनको प्रतिभार ठान्छन्। भारत आफैँ चाहिँ आफूलाई कसरी हेर्छ?

जयशंकरः अरु कसैको गोटी बन्ने कुरा मलाई भयंकर घृणास्पद लाग्छ। निश्चय नै अरु कसैको प्रतिभार बन्ने मेरो योजना छैन। म आफ्नै आकांक्षाका कारण यी काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार