विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी स्थापना दिवसलाई नयाँ शिराबाट मनाउने भएको छ ।

प्रचण्ड बाबुरामबाट मोहन वैद्य किरणसँग ०७१ को मंसिर ८ मा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवस मनाउने गर्दछ ।
यसपटकको छैटौँ पार्टी स्थापना दिवसलाई ने.क.पा. ले विभिन्न कार्यक्रमसहित मनाउने भएको छ ।
त्यसक्रममा पार्टीले पोस्टर र अपिल प्रकाशित गरेको छ । जनसमुदायलाई सम्बोधन गरिएको अपिलमा भनिएको छ, ‘हाम्रानिम्ति यो सुखमय, पवित्र एवम् गौरवपूर्ण दिवस हो । यो सुखद दिवस हामी तपाईंहरूसँग मिलेर खुसी, उमङ्ग र भव्यताका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन चाहन्छौँ ।’
पार्टीले यस वर्षको पार्टी पुनर्गठन दिवस विगतको भन्दा भिन्न परिस्थितिमा मनाउन लागिरहेको भन्दै सहिद, उनीहरूका परिवार, अस्थाका बन्दीहरू र घाइते कमरेडहरूको स्मरण गरिएको छ । केपी वली सरकारले ने.क.पा.लाई फागुन २८ गते प्रतिबन्ध लगाएको पहिलो वर्ष पार्टीले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
नेकपाले राष्ट्रियताको पहरेदार शक्तिका रूपमा आफूलाई उभ्याएको छ । हालै भारतीय साम्राज्यवादले सन् १८१६ मा इस्टइन्डिया कम्पनी सरकार र नेपालको बीचमा भएको सुगौली सन्धिको धज्जी उडाउँदै कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो राजनीतिक नक्साभित्र पारेर प्रकाशित गरेपछि पार्टी देशभक्तिको आन्दोलनमा होमिएको छ । उसले वैज्ञानिक समाजवादी क्रान्तिले मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूको समाधान गर्नसक्ने दाबी दोहोर्याएको छ ।
‘वैज्ञानिक समाजवाद मात्र सचेत एवम् श्रमिक जनताको नेतृत्व गर्ने व्यवस्था हो । हामी पार्टी पुनर्गठन दिवसको यो सुखद अवसरमा तपाईं सबैलाई अपिल गर्न चाहन्छौँ– आउनुहोस्, शोषणविहीन, जातिविहीन, धर्मविहीन, वर्गविहीन सुन्दर वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि अगाडि बढौँ’, अपिलमा भनिएको छ ।
नेपालमा सैन्य अखडा कायम गर्ने अमेरिकी षड्यन्त्रको प्रतिरोध गरिरहेको ने.क.पा. र उक्त पार्टीमाथि अमेरिका, भारतजस्ता साम्राज्यवादी देशहरूले अनेक षड्यन्त्र गरिरहेको, देशभक्तिको आन्दोलन दबाउन षड्यन्त्र भइरहेको र वली नेतृत्वको सरकार त्यसको गोटी भइरहेको आरोप पनि नेकपाले लगाएको छ ।
साताव्यापी पार्टी पुनर्गठन दिवस मनाउन लागिरहेको उक्त पार्टीले आन्दोलनमय शैलीले दिवस सम्पन्न गर्ने पनि जनाएको छ ।







