
नवनियुक्त मन्त्री र राज्यमन्त्रीले विहीबार पद तथा गोपनियताको सपथ लिए।
मन्त्रीले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए, सपथ लिनेहरुमध्येका एक मन्त्री थिए कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल ।
कुनै बेला भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलाल सरकार भन्दै विरोध गर्ने गरेका थिए तर अहिले त्यही अति केन्द्रीकृत,संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन् भन्दै लेखक तथा समालोचक खगेन्द्र संग्रौलाले व्यंग्य गरेका छन् ।
भुसालमाथि ट्विटरमा संग्रौलाको टिप्पणी यस्तो छ :
याेदलालकाे सेवा गर्ने दलाल सरकार हाे भन्थे,घनश्याम भूषाल आफै अति केन्द्रीकृत,संकुचित र असहिष्णु ओली सरकारका मन्त्री भएछन्। भनेसि अब ओलीतन्त्रभित्रैबाट वैचारिक र सांस्कृतिक कायापलट हुने भाे,हाेइन त कमरेड? अब भिटेनले जमाएर भन्लान्- लास्टमा हामी माका फुइँ त हाे ब्राे!
हालै प्रधानमन्त्रीले आफ्नो मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राययादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, घनश्याम भुसाल कृषि तथा पशुपक्षी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका रुपमा समावेश गरेका छन् ।
त्यस्तै, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् । सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको सट्टा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ







