
भारतमा दक्षिण एसियाका विज्ञ एवं नेपाल मामलाका विशेष जानकार मानिने एसडी मुनीले नेपाल–भारत सीमा विवादबारे मुख खोलेका छन् ।
नेपालका विभिन्न राजनीतिज्ञसँग निकट सम्बन्ध राख्ने प्रा. एसडी मुनीले भारतीय अखबार ‘प्रभात खबर’मा लेख प्रकाशित गर्दै नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राखेका हुन् । शुक्रबार प्रकाशित उनको लेखमा नेपाल र भारतलाई सीमा विवादबारे छलफल गर्न सुझाव दिइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी यतिबेला भारतविरोधी राष्ट्रवादी धारणा अपनाइरहेको एसडी मुनीको विश्लेषण छ । सो पार्टीले कालापानीको मुद्दालाई उचालिरहेको जिकिर गर्दै उनले भनेका छन्, ‘यो उचित छैन– न नेपाल कम्युनिस्ट पार्टीका लागि, न त केपी शर्मा ओलीका लागि ।’
कालापानी विवादको सतहमा हेर्ने हो भने दुवै मुलुकले केही गडबडी गरेको उनको ठम्याइ छ । ‘त्यहाँ भारतको सैन्य बलले बेरिकेट बनाए, नेपालीहरुलाई आउन रोके, जसबाट नेपाल असन्तुष्ट छ,’ उनले लेखेका छन्, ‘यसैमा नेपालको राजनीति बदलिएको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यो छ कि चीनले पूर्ण रुपमा आफ्नो दखल दिइरहेको छ ।’ भारत र नेपालबीचको कुनै पनि विवादमा कुनै तेस्रो मुलुकको दखल भारतका लागि ठीक नहुने उनको तर्क छ । दुवै मुलुकले समझदारी नदेखाए नोक्सान निश्चित रहेको पनि उनले प्रष्ट पारेका छन् ।
यतिबेला नेपालमा ‘ग्रेटर नेपाल’ को कुरा उठिरहेको चर्चा गर्दैै उनले लेखमा भनेका छन्, ‘ग्रेटर नेपालको अर्थ हो– प्राचीन नेपाल, अर्थात् त्यो नेपाल जो भौगोलिक रुपमा विस्तृत थियो । यही ग्रेटर नेपाल आज नेपालीहरु माग गर्दैछन् ।’ यो मुद्दालाई चीन र पाकिस्तानले उचालिरहेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘ग्रेटर नेपालको कल्पना कति साकार हुन्छ भन्ने बताउन मुश्किल छ तर कालापानी विवादको समाधान नेपाल र भारतबीच छलफलबाटै गर्नुपर्छ भन्ने निश्चित छ ।’
उनले भारत–नेपाल सीमा विवाद, पुरातन सम्बन्ध, दुवै देशको भावी सम्बन्ध लगायतमा नेपालको साथ भारतका लागि जरुरी रहेको औंल्याएका छन् ।








