सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि आलङ्कारिक अध्यक्षको भूमिकाबाट कार्यकारीमा बढोत्तरी भएको खुसी साटेका थिए ।

कान्तिपुर दैनिकसँग लामो कुराकानी गर्दै उनले पार्टी एकताको १७ महिने यात्रापछि पहिलोपल्ट ‘कार्यकारी’को अनुभूति गरेको र अध्यक्ष ओलीमा निहीत तजबिजी अधिकार आफूमा आएको भन्दै लामो स्वास फेरेका थिए ।

त्यसो त गत बुधबारको सचिवालयको निर्णयको व्याख्या, विश्लेषण आ–आफ्नै ढङ्गले हुँदै आएको थियो । संस्थापन (अध्यक्ष ओली)निकटका केन्द्रीय नेताहरूले सचिवालयको निर्णय ‘विधानकै व्याख्या’ भएको टिप्पणी गर्दै आएका थिए । पूर्वमाओवादी केन्द्रतर्फ अध्यक्ष प्रचण्डले केपी ओलीमा निहीत कार्यकारी अधिकार सचिवालय बैठकले प्रदान गरेको भन्दै हर्षबढाइँ गर्ने परिस्थिति बनेको थियो ।

सचिवालयको निर्णयका सन्दर्भमा भ्रमको तुवाँलो खडा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पन्छाउने कोसिस गरेका छन् । उनले कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा सोमबार बेलुका आफूमा निहीत अधिकार प्रचण्डमा सरेको नभइ दुई अध्यक्षको कार्यविभाजन मात्रै भएको बताए ।

आफू नेकपाको पहिलो वरीयताको अर्थात् सिनियर अध्यक्ष भएको ओलीको भनाइ छ । उनले प्रचण्डको बढुवा नभएको र भूमिकाको वृद्धिसमेत नभएको प्रष्ट पारेका छन् ।

उनले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, “हिजो मैलेमात्रै बैठकको अध्यक्षता गर्ने गर्थें, अब मैलेमात्रै अध्यक्षता गर्ने ठाउँमा (कमिटीका बैठकमा) उहाँले अध्यक्षता गर्नुहुन्छ । कहिलेकहिले मन लाग्यो भने मैले पनि गर्छु ।”

अन्तर्वार्ताको दौरानमा अध्यक्ष ओलीले पटकपटक आफू ‘(सिनियर) पहिलो वरीयताको अध्यक्ष’ भएको बताएका छन् । “पार्टीमा अलिकति सिनियर र जुनियर हुन्छ । म सिनियर अध्यक्ष हुँ,” उनले अन्तर्वार्ताकारसँग प्रष्ट शब्दमा भनेका छन् ।

अध्यक्षद्वयको सिनियर र जुनियर वरीयताले नेकपामा नयाँ विवादको उत्पादन भएको नेकपा नेताहरूको टिप्पणी गरिरहँदा नेकपाको अन्तरिम विधानका निर्माता र ‘व्याख्याता’ बेदुराम भुसालले सचिवालयको बैठकको निर्णय विधानसँग बाझिएको बताए ।

“पार्टी विधानले सिनियर र जुनियर अध्यक्षको कल्पना गरेको छैन । एकजना अध्यक्ष सेरेमोनियल र अर्को कार्यकारी अध्यक्षको पनि कल्पना गरेको छैन । विधानले दुईजना अध्यक्षलाई नै कार्यकारी मानेको छ, अधिकारको बाँडफाँड पनि सोही अनुरूप छ,” उनले बाह्रखरीसँग भने ।
तर सचिवालय बैठकले कार्यकारीको नयाँ भाष्य निर्माण गरेको छ ।

“अध्यक्षको वरीयता विधानमा तय गरिएको छैन । अध्यक्षद्वयको वरीयता कमिटीले निर्धारण गर्ने कुरा हो । पार्टी सचिवालयको संरचनाअनुसार अध्यक्ष ओली पहिलो वरीयतामा त्यसपछि प्रचण्ड रहनुभएको छ,” भुसाल बताउँछन् ।

तर बुधबारको सचिवालय बैठकको निर्णय पार्टीको अन्तरिम विधानसँग नमिलेकाले अप्ठ्यारो पर्न सक्ने बताए ।

“पार्टीभित्र कुरा उठेको अध्यक्षद्वयको कार्यविभाजनका सन्दर्भमा हो । एकजना अध्यक्षलाई सरकार सञ्चालनमा ध्यान दिनेगरी र अर्को अध्यक्षले पार्टीमा ध्यान दिनेगरी कार्यविभाजन गर्न सुझाव दिइएको थियो । तर सचिवालयको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेछ ! विधान बाझिनेगरी निर्णय गरेपछि अप्ठ्यारो परिहाल्छ नि !,” उनले भने ।

बाह्रखरी अनलाइनका लागि अक्षर काकाले तयार पारेको रिपोर्टको सानो अंश ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार