
बलात्कार प्रयासको आरोप लागेर कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभामा सभामुख पद करिब ३ महिनादेखि रिक्त छ । १४ असोजमा महराले राजीनामा दिएपछि रिक्त पदमा कसलाई ल्याउने भन्नेमा नेकपाभित्र छलफल चलिरहेको छ ।
महरा तत्कालीन माओवादी केन्द्रको कोटाबाट सभामुख बनेका थिए । तत्कालीन एमाले कोटामा उपसभामुख परेको थियो र यो पदमा डा. शिवमाया तुम्बाहाम्फे आसीन छिन् ।
माओवादी र एमाले मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकाले एउटा पद छाड्न नेकपालाई दबाब छ । किनकि, संविधानअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुनु हुँदैन ।
नेकपा सभामुख पद गुमाउन चाहँदैन । उपसभामुखलाई राजीनामा गराएर अर्का व्यक्तिलाई सभामुख बनाउने गृहकार्य नेकपाले गरिरहेको छ । यहीबेला नेकपा वृत्तमा पूर्वसभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको चर्चा चलिरहेको छ ।
आउँदो पुसमा सुरु हुने गरी हिउँदे अधिवेशन आह्वान गर्ने तयारी सरकारको छ । नेकपाभित्र पनि तत्कालै सभामुखका लागि योग्य र धेरैले मान्ने व्यक्तिलाई ल्याउने विषयमा छलफल भइरहेको छ ।
सभामुखमा पूर्वमाओवादी सांसदको पनि दाबी छ । यद्यपि, विगतमा राम्रो काम गरेको र सबैले मान्ने भएकाले नेम्वाङलाई सभामुख बनाउने विषयमा नेकपा नेतृत्व सहमतिनजिक पुगेको बताइएको छ ।
पूर्वमाओवादीबाट पम्फा भुसाल, ओनसरी घर्ती मगर र अग्नि सापकोटाले सभामुख पदमा दाबी गर्दै आएका छन् । तर, भुसालप्रति नेकपा अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक नभएको, सापकोटामाथि फौजदारी अभियोगको मुद्दा उल्टन सक्ने र घर्तीलाई दोहोर्याएर अवसर दिँदा ऊर्जामन्त्री वर्षमान पुनको जिम्मेवारी खोसिन सक्ने भएकाले तीनै जनाको सम्भावना न्यून देखिएको छ ।
अनुभवी तथा पदका लागि उपयुक्त पात्र नेम्वाङ नै भएको पूर्वएमाले नेताहरूको निष्कर्षमा अध्यक्ष प्रचण्ड पनि सहमत भएको स्रोत बताउँछ । बरु दाहालले भनेका छन्, ‘योग्यता र क्षमता भएको व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ । म पूर्वएमाले वा पूर्वमाओवादी भनेर पूर्वाग्रह राखेर निर्णय गर्ने पक्षमा छैन ।’
यता, सभामुखको दौडमा रहेकी भुसालले महिलालाई नै सभामुख बनाउनुपर्ने माग पार्टीभित्र राख्दै आएकी छन् । आफू पनि यो पदका लागि तयार रहेको, अन्यथा उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्नेमा उनको जोड छ ।
उपसभामुखको आशा गर्दै आएको समाजवादीलाई भने नेकपाले पत्याएको छैन । बरु पुराना वामपन्थी नेता मोहनविक्रम सिंहकी श्रीमती सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच दुई चरणमा छलफल भएको छ ।
उपसभामुख तुम्बाहाम्फेले भने महिलालाई नै सभामुख बनाउनुपर्ने अडान राख्दै आएकी छन् । उनले अध्यक्षद्वयले राजीनामा दिन गरेको आग्रहलाई समेत अस्वीकार गरेकी थिइन् । उपसभामुख तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ ।
तर, नेकपाका दुई अध्यक्ष भने तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने तयारीमा छन् ।
लिलाराज खनालले शिलापत्रका लागि तयार पारेको रिपोर्ट ।







